रोल्पा : नेपाल सरकारका निवर्तमान अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद वर्षमान पुनले स्थानीय तह प्राप्तिका लागि दशौं हजारले बलिदान गरेको बताएका छन् । शनिबार रोल्पाको माडी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको घर्तीगाउँमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
पुनले भने- 'नेपाली जनताको लामो संघर्षपछि लोकतन्त्रको जगको रूपमा संघीय संरचनामा हामीले स्थानीय तह प्राप्त गरेका छौँ । २००७ सालको शस्त्र आन्दोलन थियोे, २०२८ सालको झापा आन्दोलन सशस्त्र थियो, २०५२-०६४ सशस्त्र थियोे र बाँकी २०३६ को विद्यार्थी आन्दोलन,०४६ को आन्दोलन र १९ दिने शान्तिपूर्ण आन्दोलन इतिहास हो ।'
उनले भवन एउटा भौतिक बस्तु भएको र भवनबाट जनतालाई सेवा सुविधा प्रदान गर्नु महत्त्वपूर्ण कुरा भएको बताए । भवन संघीय सरकारको ६० प्रतिशत र स्थानीय तहको ४० प्रतिशत साझेदारीमा भवन निर्माण भएको उनले बताए । विकसित देशको तुलनामा नेपालको संघीयता मौलिक भएको बताउँदै पुनले यहाँ भौगोलिक विविधता, जातीय विविधता र आर्थिक विविधता रहेकोे बताए ।
साथै संघीयताभित्र तीन तहको सरकार भएको र संघ सरकारको सिंहदरबार काठमाडौं, प्रदेश सरकारको राप्ती उपत्यका देउखुरी र स्थानीय तह माडी गाउँपालिकाको प्रतीक घर्तीगाउँ भएको बताए। द्वन्द्व, संघर्ष, बलिदान, योगदानबाट सिर्जित भएकाले पालिका संरचनाहरु शान्तिको प्रतीक भएको जिकिर गर्दै उनले घर नजिकबाट सेवा सुविधा पाउने प्रतीकको रूपमा समेत जनताले बुझ्ने गरेको बताए ।
रोल्पा जिल्लामा यो बर्ष संघ र प्रदेश सरकारबाट पर्याप्त मात्रमा बजेट आएकाले स्थानीय सरकारले नसघाएमा काम खर्च हुन नसक्ने समेत जिकिर गरे । आफू नेपाल सरकारको अर्थमन्त्री हुँदा रोल्पामा विनियोजन भएका आर्थिक योजना अहिलेको सरकार कार्यान्वयन नगर्ने पक्षमा रहेको बताउँदै पुनले विकास नियमित प्रक्रिया भएकाले सरकारको केही न केही दृष्टिकोण अवश्य हुने समेत बताए ।
आफू अर्थमन्त्री हुँदा शहीद मार्ग खण्डमा १ अर्ब २५ करोड विनियोजन गरेको र करिब ४ अर्ब बराबरको टेन्डर हुने भनिएको काम अहिलेसम्म नभएको बताए । रुकुम पूर्व, रुकुम पश्चिम र दाङका जनताले होलेरी घोराही खण्डमा काम हुन नसकेको गुनासो गरेको आफूले पाएको बताए । शहीद मार्ग अन्तर्गत होलेरी घर्तीगाउँ, दुइखोली चुन्बाङ र थबाङ खण्डमा कालोपत्र र पिचको काम तीव्र रूपमा भएको र घोराही होलेरी खण्डमा काम हुन नसक्दा समस्या भएको बताए ।
लोकतन्त्रमा दुई ठूला दल सत्तामा हुनु विरलै घटना भएको बताउँदै उनले पहिलो ठूलो दल सत्तामा हुने र दोस्रो ठूलो दल प्रतिपक्षीमा हुनुपर्नेमा नेपालमा त्यस्तो नभएको बताए । अहिले दुई तिहाइको सरकारले संविधान संशोधन गर्छौं भन्ने गरेको बताउँदै उनले भने, 'संविधान संशोधन गर्नुहोस् तर पश्चगामीतिर होइन अग्रगामी तिर बढ्ने गरेर संशोधन गर्नुहोस् ।'
रोल्पाको विकास निर्माणका लागि सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्नुपर्ने र विकास निर्माण, सुशासन, सामाजिक रुपान्तरणमा एकताबद्ध र साझेदारी अपरिहार्य रहेको उनले बताए ।