समस्या आए खाने बस्ने व्यवस्था मिलाउन राजदूतहरुलाई सरकारको निर्देशन
योगेन्द्र योगी/मध्यान्ह
दोहा : कतार सरकारले आफ्नो देशमा देखिएको कोारेना भाइरसको महामारी नियन्त्रण गर्न देश भित्रका सम्पुर्ण सार्वजनिक पार्क, सामुन्द्रिक तट, कर्नेशलगायतका स्थानमा कुनै पनि प्रकारको जमघट गर्न पुर्ण रूपमा बन्देज लगाइएको भन्दै यहाँस्थित नेपाली दूतावासले बन्देज लगाएको क्षेत्रमा नजना सम्पूर्ण कतारबासी नेपालीलाई आग्रह गरिसकेको छ ।
यस्तै कतार च्यारिटीसँग समन्वय गरी गैरआवासीय नेपाली संघ कतारले सहानियाको लेबर क्याम्पमा जनचेतना तथा मेडिकल किट्स वितरण गरेको गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।
कतारमा कोरोना भाइरस संक्रमितको संख्या ५३७ पुगेको छ । अहिले सम्म नेपालीहरुमा भने संक्रमण नदेखिएको दूतावासले जनाएको छ । सनैया लकडाउनमा रहेका नेपालीहरु पनि सुरक्षित रहेको संखुवासभाका कमन मगरले बताए ।
उता, कुवेत सरकारले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ । प्रत्येक दिन बेलुकी पाँच बजेदेखि बिहान चार बजेसम्म कर्फ्यु लाग्ने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कर्फ्युको पालना नगरेमा तीन वर्ष जेल र १० हजार कुवेती दिनार जरिवाना हुने दूतावासले जनाइसकेको छ । कुवेतमा हालसम्म १९५ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ भने अहिले सम्म नेपालीहरु सुरक्षित रहेको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ ।
यस्तै साउदी अरवको श्रम कानूनको अवज्ञा गरी कामदारको इच्छा विपरित विना पारिश्रमिक विदा बस्न बाध्य बनाइएमा सोको उजुरी १९९११ नम्वरमा गर्न सकिने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
कर्फयु उल्लङ्घन गरे २० दिनसम्म जेल र १० हजार साउदी रियाल जरिवाना हुने दूतावासले जनाएको छ । कर्फ्युको समयमा बाहिर नहिँड्न र सुरक्षित रुपमा कोठामै बस्न पनि दूतावासले अनुरोध गरेको छ ।
कोरोना भाइरसको संक्रमण साउदी अरबमा हरेक दिन बढिरहेको छ । साउदी अरबमा यो भाइरसबाट संक्रमितहरुको संख्या ७३७ पुगेको समेत दूताबासले जानकारी दिएको छ ।
यस्तै, बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए । बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गर्न र कुनै समस्या भएमा नेपाली दूतावासमा सम्पर्क आग्रह गरेको छ । बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले सम्म त्यहॉ ३१० जनामा कोरोनाको सङक्रमण भएको छ ।
युएइमा कोरोना संक्रमित भएका दुई नेपाली पूर्ण स्वस्थ भई घर फर्केका छन् । हालसम्म यूएइमा कोरोना (कोभिड - १९) बाट ३३३ जना संक्रमित भेटिएका छन् भने २ जनाको मृत्यु भएको दूतावासले जनाएको छ ।
नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुले भने खाडी र अफ्रिकी मुलुकमा रहेका नेपाली राजदूतहरूसँग भिडियो कन्फरेन्स गर्दै नेपाली कामदारहरू बारे जानकारी लिएका छन् । नेपालीलाई बेरोजगार हुने अवस्था आए वा अन्य कुनै समस्या भए खाने बस्ने व्यवस्था मिलाउन त्यहाँ स्थित राजदूतहरुलाई सरकारले निर्देशन दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies