
दोहा, कतार : पर्वतको जलजला गाउँपालिकाबाट रोजगारी तथा विभिन्न सिलसिलामा कतारमा बसोबास गर्दै आएका जलजलावासी नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक सेवामा सक्रिय पर्वत जलजला समाज कतारले आफ्नो तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन आयोजना गर्ने भएको छ।
समाजले भोलि शुक्रबार प्लाजा मलस्थित मेसक्याफे रेस्टुरेन्टमा अधिवेशन आयोजना गर्न लागेको हो। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक सूर्यबहादुर खत्रीले जानकारी दिए। उनले कतारमा रहेका सम्पूर्ण पर्वतवासी तथा जलजलावासीलाई कार्यक्रममा उपस्थित भई अधिवेशन सफल बनाउन आग्रह गरेका छन्।
मध्यान्ह १२ बजेदेखि सुरु हुने कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति चयन गरिनुका साथै तेस्रो वार्षिकोत्सवसमेत मनाइनेछ। सन् २०२३ मा स्थापना भएको यस संस्थाले जलजला गाउँपालिकाभित्रका सामाजिक तथा मानवीय कार्यमा सहयोग पुर्याउँदै आएको छ। साथै, पर्वत जिल्ला तथा नेपालका विभिन्न स्थानमा भएका प्राकृतिक विपत्ति र दैवी प्रकोपका घटनामा समेत आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्दै आएको छ।
गाउँपालिकालाई केन्द्रमा राखेर स्थापना भए पनि जिल्लादेखि राष्ट्रिय स्तरसम्मका सामाजिक तथा मानवीय सेवामा सक्रिय सहभागिता जनाउँदै आएको संस्थाले कतारमा रहेका जलजलावासीलाई एउटै सामाजिक सूत्रमा जोड्दै आपसी सद्भाव, सहयोग र एकता अभिवृद्धिमा समेत भूमिका खेल्दै आएको छ।
समाजका अध्यक्ष देभाराज कार्कीले कतारमा रहेका सम्पूर्ण जलजलावासीलाई संस्थाको साधारण तथा आजीवन सदस्यता ग्रहण गरी सामाजिक अभियानमा जोडिन आग्रह गरेका छन्। संस्थालाई अझ व्यवस्थित, सक्रिय र सेवामुखी बनाउन सबैको साथ, सहयोग र सहभागिता आवश्यक रहेको उनले बताए।
अधिवेशनमा विभिन्न कलाकारले सांगीतिक प्रस्तुति दिने कार्यक्रमसमेत रहेको छ। सांगीतिक प्रस्तुतिसहित आयोजना हुने वार्षिकोत्सव तथा अधिवेशन संगीतमय बन्ने आयोजकले जनाएको छ।