रौतहट : रौतहट कटहरिया नगरपालिकामा तीन सातादेखि लागेको ताला अझै खुल्न सकेको छैन । नगर प्रमुख अजय प्रकाश जयसवाल तथा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै जनप्रतिनिधिलेनै तालाबन्दी गरेका हुन् ।
नगर प्रमुख जयसवाल तथा प्रमुख प्रशासकीय अधिकृतले एकलौटी गर्ने गरेको अन्य जनप्रतिनिधिहरूको आरोप छ । कयौं पटक तालाबन्दी भयो, खुल्यो पनि, तर यसपालिको तालाबन्दी निर्णायकनै हुने जनप्रतिनिधिहरुको भनाइ छ ।
कटहरिया वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले मेयर र अधिकृतको गैरजिम्मेवारीका कारण तालाबन्दी भएको तीन हप्ता वित्दा समेत खुल्न सकेको छैनत । उनीहरुले तालाबन्दी खुलाउने कुनै पहल गरेका छैनन् ।
बाहिरै बसेर चेक काट्ने र सम्झौता गराउने जस्ता कामहरु भइरहेको वडाध्यक्ष गुप्ताले बताएका छन् । गलत नियतले मेयर र अधिकृतले नगरपालिकालाई बन्धक बनाएको उनले आरोप समेत लगाए ।
मेयर जयसवालले नगरपालिकालाई कमाइ खाने भाँडो बनाएको वडाध्यक्ष गुप्ताको आरोप छ । साथै उनले आन्दोलनलाई वेवास्ता गरिए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएका छन् ।
अर्का वडाध्यक्ष चन्दन कुशवाहाले यसअघि आफूहरुले तलाबन्दी गर्दा मेयरले ११ बुँदे सहमती गरेर नै ताल्चा खोल्न लगाएको स्मरण गराए । कर्मचारीहरु बक्यौता तलब दिने, बिजुलीको महसुल भुक्तानी गर्ने, खानेपानीमा पैसा राख्ने जस्ता सहमतीहरु गरेर नै नगरपालिकामा लागेको ताल्चा खोलाइएको थियो । तर अहिले ताल्चा खोलाउने कुनै किसिमको पहल भएको छैन ।
कटहरिया नगरपालिका २० दिनदेखि मात्र होइन् अढाइ वर्षदेखि नै मेयरको बन्धकमा रहेको वडाध्यक्ष कुशवाहाले दाबी गरे । यत्रो लामो तालाबन्दी हुँदा समेत मेयरले वेवास्ता गर्दै बसेको भन्दै उनले असन्तुष्टी जनाए ।
नगरप्रमुख र कार्यालय प्रमुखले नगरपालिकामा भ्रष्टाचारको साम्राज्य खडा गरेको र जनताप्रति अलिकति पनि उत्तरदायी नदेखिएको उनले आरोप लगाए ।
सोमबार उपप्रमुख रिता देवी यादवसहित कटहरिया वडा नम्बर १ का वडाध्यक्ष भूपेन्द्र महतो, वडा नम्बर २ का वडाध्यक्ष हरिन्द्र साह,वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा,वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ता र वडा नम्बर ७ का वडाध्यक्ष सहिद आलमले एकस्वरमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतप्रति असन्तुष्टी जनाए । आफूहरुले नगरपालिकाको भलाइको लागि तालाबन्दी गरेको उनीहरुको भनाइ छ ।