दोहा : अनाथ बालबालिकाहरूको आश्रय स्थल ’माया घर’ को निर्माणका लागि सद्भाव युवा समाज नेपाल कतारले आर्थिक सहयोग गरेको छ ।
कीर्तिपुर नगरपालिका ४ गाम्चास्थित महिला तथा बाल विकास मञ्च नेपालद्वारा सञ्चालित अनाथ बालबालिकाहरूलाई आश्रय दिएर राखिएको ‘माया घर’ को नयाँ भवन निर्माण को लागी समाजले ९१ हजार रुपैयाँ नगद सहयोग गरेको हो ।
आइतबार एक कार्यक्रमकाबीच माया घरका सञ्चालक दुर्गा आचार्यलाई सद्भाव युवा समाज नेपालका अध्यक्ष प्रदीप रुपाखेतीले उक्त रकम हस्तान्तरण गरेका हुन् । ‘निर्माणाधीन भवनलाई इँट्टा थप गर्न हामीले सानो सहयोग गरेका हौँ र नयाँ भवन समयमै सम्पन्न हुने आशा गर्दछु’ अध्यक्ष रुपाखेतीले भने ।
१४ वर्षदेखि सञ्चालित माया घरमा हाल २८ जना बालबालिकाले आश्रय लिइरहेको र भवन निर्माणाधीन भइरहेको जानकारी पाएसँगै सद्भाव युवा समाज कतारका संरक्षक तथा सद्भाव नेपालका सल्लाहकार सुरेश तामाङको समन्वयमा सहयोग उपलब्ध गराइएको हो ।
माया घरका सञ्चालिका दुर्गा आचार्यको सभाध्यक्षता तथा कीर्तिपुर ४ का वडाध्यक्ष राजेन्द्र बानियाँको प्रमुख आतिथ्यतामा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । सद्भाव युवा समाज नेपाल कतार वैदेशिक रोजगारीको सिलसिलामा कतारको स्थानीय कम्पनी कतार एयरवेजमा कार्यरत नेपालीहरू मिलेर स्थापना गरेको सेवामुखी संस्था हो ।