२०८१ माघ २ गते बुधवार / Jan 15 , 2025 , Wednesday
२०८१ माघ २ गते बुधवार
Ads

शिक्षक नियुक्तिमा अल्पसंख्यकमाथि विभेद गरिएको आरोप

ADV
शहबाज खान
२०८१ माघ १ गते २१:५४
शिक्षक नियुक्तिमा अल्पसंख्यकमाथि विभेद गरिएको आरोप

कपिलवस्तु : राष्ट्रिय मदरसा संघ नेपालले शिक्षक सेवा आयोगद्वारा हालै प्रकाशित ३ सय ६८ पदहरूको विज्ञापनले अल्पसंख्यक समुदायप्रति अन्याय र विभेद गरेको आरोप लगाएको छ ।  

आयोगको सूचनामा हिन्दू धर्मसँग सम्बन्धित विषयहरूलाई प्राथमिकता दिएपनि मुस्लिम समुदायका अरबी, इस्लामिक अध्ययन, हदीस, र फिकहजस्ता विषयलाई पूर्णतः बेवास्ता गरिएको संघले जनाएको छ । यसले अल्पसंख्यकहरूको भावना मात्र होइन, नेपालको सामाजिक सद्भावमा पनि गम्भीर प्रश्न उठाएको संघको ठहर छ ।

संघका अध्यक्ष डा.अब्दुल गनी अल्कूफीले भने,‘यो विज्ञापन केवल सूचना मात्र होइन, यो अल्पसंख्यकहरूको अधिकारमाथि गरिएको प्रहार हो । हामी सरकारसँग यस अन्यायलाई तुरुन्त अन्त्य गर्न माग गर्दछौं ।’

संघका महासचिव मौलाना मशहूद खाँ नेपालीले भने,‘धर्मनिरपेक्षता र समानता नेपालको पहिचान हो । तर यस प्रकारको विभेदले केवल अल्पसंख्यकहरूको विश्वासमा चोट पु¥याउँछ । सबै धर्म र समुदायलाई समान अवसर प्रदान नगर्दा देशको प्रगतिमा बाधा पुग्छ ।’

यस्तै संघले शिक्षक नियुक्तिमा सबै धर्मका व्यक्तिलाई समान अवसर दिनुपर्ने,  मुस्लिम समुदायका विषयलाई पाठ्यक्रम र नियुक्तिमा समावेश गर्नुपर्ने,  नीतिनिर्माण प्रक्रियामा अल्पसंख्यक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरेको छ । यस्तै नेपालको धर्मनिरपेक्ष र संवैधानिक मूल्यमान्यता व्यवहारमा लागू गर्न पनि संघले माग गरेको छ ।  

संघले सबै अल्पसंख्यक समुदाय, संगठन र अगुवाहरूलाई अधिकारका लागि एकजुट हुन आह्वान गर्दै भनेको छ,‘यो समय सहकार्य र एकताको हो । नेपालले मात्र त्यतिखेर प्रगति गर्न सक्छ, जब हरेक नागरिकलाई समान अवसर प्राप्त हुनेछ ।’

संघले यो विषयलाई नेपालको संविधान र सामाजिक सद्भावको परीक्षा भएको बताउँदै सरकारलाई तत्काल कदम चाल्न आह्वान गरेको छ । विभेद अन्त्य गर्दै सबैलाई समान अवसर प्रदान गर्न सरकारले चालेको कदमले नेपालको धर्मनिरपेक्ष पहिचानलाई बलियो बनाउन सहयोग पुग्ने संघले विश्वास लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise