गौरीशंकर जयसवाल/मध्यान्ह
परासी : पश्चिम नवलपरासीको एक गाउँपालिकाका वडा अध्यक्ष र वडा सचिवलगायत आधा दर्जन व्यक्तिहरु किर्ते मुद्दामा संलग्न रहेको खुलेको छ । जिल्ला अदालत पश्चिम नवलपरासीले उक्त मुद्दामा संलग्नलाई पक्राउ गर्न अनुमति दिएको भए पनि प्रहरीले पक्राउ गर्न आलटाल गरेको पीडित पक्षले वताएका छन् ।
वडा अध्यक्ष र अन्य संलग्न व्यक्तिहरु खुलेआम गाउँमा घुमिरहेको भएपनि प्रहरी चौकी गेर्मीले उनीहरुलाई पक्राउ गरेको छैन । पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष ओम प्रकास तेली, वडा सचिव गोविन्द कोहार, सो गाउँपालिकाका तत्कालिन सचिव नन्दलाल कोहार, कार्यालय सहयोगी अमरलाल कोहार र ओमप्रकाश तेली गुप्ता सुवेदार शेषको विवाह दर्ता प्रमाणपत्रको किर्ते गरी मिति सच्याएको अभियोगमा संलग्न रहेको खुलेको छ । रामग्राम नगरपालिका ५ बस्ने सुवेदार शेषको जाहेरीले लिखत सम्बन्धी कसुर मुद्दामा वडा अध्यक्ष, कार्यालय सहयोगी अमरलाल कोहार, ओमप्रकाश तेली गुप्ता फरार रहेका छन् ।
सोही मुद्दामा वडा सचिव गोविन्द कोहारलाई पूर्पÞक्षका लागि कारागार कार्यालय पश्चिम नवलपरासीमा थुनामा पठाएको छ भने पाल्हीनन्दन गाउँपलिकाका तत्कालिन सचिव नन्दलाल कोहार ६० हजार धरोटीमा तारेखमा छुटेको जिल्ला अदालत पश्चिम नवलपरासीका निमित्त श्रेस्तेदार तिर्थराज शर्माले बताएका छन् । २०६५ साल भदौ १५ गते जारी विवाह दर्तालाई निजहरुको मिलोमतोले २०६० साल चैत १५ गते बनाएको अभियोग सहित किर्ते मुद्दा परेको थियो ।
प्रतिवादी सुवेदार शेष र रुक्साना शेष श्रीमान–श्रीामती हुन् । अंशको विवाद भएपछि श्रीमती रुक्साना शेषले विवाह दर्ता प्रमाणपत्र सच्याएको भनि जिल्ला अदालत नवलपरासीमा श्रीमान सुवेदार शेषले मुद्दा दिएका थिए । किर्ते मुद्दामा संलग्न भएको ठहर भएमा ७ वर्ष कैद र ७० हजार जरीवाना हुने कानुनी व्यवस्था रहेको निमित्त श्रेस्तेदार शर्माले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies