गएको डिसेम्बरदेखि शुरु भएको कोभिड महामारीका कारण शुरुवाति चरणका केही समयसम्म तथ्यहरुले खुबै तनाव दिएको थियो । सानो संख्यामा संक्रमित देखिदा पनि धेरैको ध्यान तानिने समय लगभग विश्वभर नै टरिसकेको छ । त्यसको प्रत्यक्ष अनुभव नेपालमै पनि भइसकेको छ । माघ ९ गते पहिलो कोभिड संक्रमित नेपालमा भेटिएका थिए । चीनबाट फर्किएका नेपालीमा देखिएको संक्रमितले धेरैलाई तर्साएको थियो । त्यसैबेला चीन बाहेक विश्वका केही देशमा मात्रै संक्रमण देखिएको थियो । दक्षिण एसियामा त संक्रमण देखिएको त्यही नै पहिलो समेत थियो ।
त्यसको लामो समयसम्म नेपालमा संक्रमण देखिएन । तर, तेस्रो जनामा संक्रमण देखिएपछि भने सरकारले रोकथामको प्रयास थाल्यो । त्यसबेला संक्रमण यूरोप हुँदै अमेरिका पुगिसकेको थियो । यूरोप महामारीको इपीसेन्टर बनेको खबरले विश्वलाई नै तर्साएको थियो । हरेक दिन बढेको संक्रमित संख्यामा समाचार विश्वभर बनिरहेको थियो । तर, अहिले लगभग विश्वका अन्य देशमा संक्रमित बढेको संख्याबारे समाचार चासोमा पर्न छोडिसकेको छ । जबकी छिमेकी मुलुक भारत विश्वकै बढी प्रभावित हुने तेस्रो मुलुक बनिसकेको छ । विश्वभर एक करोड ९० लाख संक्रमित भेटिदा भारतमा मात्रै १९ लाख नाघेको छ । अहिलेसम्म विश्वमा संक्रमणबाट सात लाख ११ हजारको मृत्यु नै भइसकेको छ ।
नेपालमा पनि शुरुवाति दिनमा जसरी संक्रमित संख्या त्रसित बनाउन छोडिसकेको छ । अर्थात्, कोभिड महामारीबाट सिर्जना हुने त्रसित मनोविज्ञान बिस्तारै हट्दै गएको छ । यदि, होइन भने नेपालजस्तो सानो देशमा २१ हजार बढी संक्रमित भेटिनु सामान्य होइन । नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ जना पुगिसकेको छ । १२० दिन लामो लकडाउन गएको साउन ७ गते अन्त्य भएपछि भने जोखिमको त्रास फेरि बिस्तारै बढ्न थालेको छ ।
किनभने, राजधानी उपत्यकामा दिनहुँ संक्रमित पुष्टि हुनेको संख्या बढिरहेको छ । बुधबार त एक जनाको मृत्यु नै भयो । अझ एकपछि अर्काेगरी भीभीआईपीहरुमै संक्रमण पुष्टि भएको खबरले बढी त्रसित बनाएको छ । प्रदेश नम्बर दुईका कानून मन्त्रीलाई संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका कारण प्रधानमन्त्री र गृहमन्त्री समेत संक्रमणको जोखिममा तानिएका छन् । यसअगाडि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सांसद र जनप्रतिनिधिमा संक्रमण देखिसकेको थियो । तर, भीभीआईपीमा संक्रमण देखिनु र धेरै जनसंख्या भएको शहरहरुमा संक्रमण देखिएपछि सरकारले थप कडाइ गर्ने संकेत देखाएको छ । संक्रमणको जोखिम देखिएका ठाउँहरुमा निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ । फेरि लकडाउनकै माग समेत हुन थालेको छ ।
तर, भुल्न नहुने तथ्य भनेको लकडाउन आफैंमा विकल्प होइन । सतर्कता अपनाउनमा लापरबाही भएमा सरकारले नागरिक अनुशासित बनाउने बाध्यकारी हस्तक्षेप हो, यो । महामारी रोकथामको प्रमुख अस्त्र भनेको नागरिक नै अनुशासित हुनु हो । संसारकै बढी जनसंख्या भएको मुलुक चीनले रोकथामलाई प्रभावकारी बनाउनुमा त्यहाँका नागरिकले अपनाएको अनुशासित जीवनशैली महत्वपूर्ण थियो । त्यसैले लकडाउन हुनुपर्छ वा पर्दैन भन्ने कुरा सरकारको निर्णय हो । तर, नागरिकले अनुशासन तोडेमा भने महामारीको भयावह रोकिने छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies