काठमाडौं : म्याग्दीमा पुरानो कम्युनिष्ट नेताको छवि बनाएका वैदेशिक रोजगार व्यवसायी बलभद्र ढकाल र स्वतन्त्र व्यवसायीको छवि बनाएका भीम बहादुर रोका मगर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । ढकाल प्रोटेक नेपाल इम्प्लाईमेन्ट प्रा.लि. र रोका याक्का ओभरसीज प्रा.लि.का सञ्चालक हुन् ।
ढकाल र रोकाको परिचय केबल वैदेशिक रोजगार व्यवसायसँग मात्र जोडिएको छैन । रोका होटल र पर्यटन व्यवसायी पनि हुन् । एक प्रतिष्ठित व्यवसायीकारुपमा चर्चित रोकाले म्याग्दीमा समाजसेवीकारुपमा पनि आफ्नो स्थान बनाएका छन् । यद्यपि यसअघि उनी राजनीतिकरुपले स्वतन्त्र थिए ।
दुवै जना व्यवसायीले आइतबार विहान नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा आयोजित संक्षिप्त कार्यक्रममा पार्टी सदस्यता ग्रहण गरे । सो अवसरमा नेपाली कांग्रेसका सभापति देउवाले व्यवसायी ढकाल र रोकासहित राजेन्द्र श्रेष्ठ र करिश्मा खत्रीलाई पार्टीमा स्वागत गरे । श्रेष्ठ राष्ट्रिय ट्रक व्यवसायी महासंघका अध्यक्ष हुन भने खत्री ईन्जिनियर हुन् ।
२०४५ सालदेखि तत्कालीन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियूको राजनीतिमा लागेका व्यवसायी ढकाल सत्तारुढ नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका उपाध्यक्ष र नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व कार्यसमिति सदस्य हुन् । संघका पूर्व अध्यक्ष बलबहादुर तामाङको कार्यकालमा ढकाल संघको कार्यसमितिमा मनोनित भएका थिए । ढकाल म्याग्दी जिल्लाको तत्कालीन अर्मन गाविसका पार्टी उपाध्यक्ष, म्याग्दी काठमाडौं सम्पर्क मञ्चका पूर्व अध्यक्षका साथै काठमाडौंमा रहेका म्याग्देलीका करिब एक दर्जन संघसंस्थामा आवद्ध रहेका छन् ।
आफु निस्वार्थरुपमा जनताको सेवा र समाजको परिवर्तनका लागि कम्युनिष्ट पार्टीमा लागेको तर पार्टीभित्र परिवर्तनकारी भन्दा जसरी भएपनि शक्ति हत्याउने ‘गेम्ब्लर’हरुको दवदवा बढेपछि नेकपामा रहिरहन मनले नमानेर नेपाली कांग्रेस प्रवेश गरेको ढकालले मध्यान्हलाई बताए ।
उनले भने, ‘जनतालाई फलामे अनुसासनको छडी देखाउने तर नेताहरु दुई तिहाई मत पाएर पनि कुनै काम नगर्ने भएपछि त्यस्तो पार्टीमा बसी रहनुको औचित्य देखिनँ । मैले राजनीतिलाई व्यवसाय बनाएको छैन । जहाँ गएपनि जनताको हितमा काम गरिरहने छु ।’
पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुन जोशी, नेपाली कांग्रेसका नेताहरु जित छन्त्याल, नेपाली कांग्रेस काठमाडौं म्याग्दी सम्पर्क समितिका सभापति चित्र केसी, नेपाल विद्यार्थी संघ काठमाडौं म्याग्दी सम्पर्क समितका सभापति दीपेन्द्र रिजाल लगायतको उपस्थिति थियो ।
नेपाली कांग्रेसमा प्रवेश गरेका व्यवसायीहरुलाई संस्थामा स्वागत गरिएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष नरेन्द्र ढकालले बताए । एशोसिएसन कार्यसमितिको बैठक बसी ढकाल तथा रोकालाई उपयुक्त सम्मान र जिम्मेवारी दिइने पनि अध्यक्ष ढकालले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies