विश्वको ध्यान कोभिड महामारीबाट कसरी बच्ने भन्नेमा केन्द्रीत भइरहँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुको ध्यान भने पार्टी एकता जोगाउनेतर्फ थियो । उत्तरी छिमेक चीनबाट शुरु भएर विश्वव्यापी भएको कोभिड महामारीको रोकथामका लागि देशब्यापी लकडाउन गरेर सरकारको नेतृत्व गरेको दल नेकपा भने आन्तरिक संघर्षमा रुमलियो । लकडाउनले जनजीवन अस्तव्यस्त बनिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने दल विभाजन सम्बन्धी अध्यादेश ल्याए । यसपछि त आम तहसम्मको चासो सत्तारुढ नेकपातर्फ तानियो ।
वैशाख ८ गते प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याइरहँदा चैत ११ गतेदेखि जारी गरिएको लकडाउनले नागरिक तहमा भोकको चिन्ता बढ्न थालेको थियो । त्यसैबेला लकडाउन लम्बिदै गएकाले पूर्वी पहाडमा रहेका सुदूरपश्चिमका मजदुरहरु पैदल यात्रामार्फत् घर फर्किएका थिए । नागरिक तहमा देखिएको त्यो दर्दको कथा आमसञ्चार माध्यमहरुमा आउन थालिसकेको थियो । तर पनि नेकपाको संघर्ष टुंगिएन । झनै झाँगिदै गयो । वैशाख, जेठ, असार, साउन र भदौको अन्तिमसम्म पनि नेकपा शक्ति संघर्षमा लडिरह्यो । अर्कातिर नागरिक भने रोग र भोकको चिन्ताले तड्पिरहे ।
त्यसैबीचमा भारतीय पक्षबाट पश्चिम पहाडको भूगोल अतिक्रमण भयो । एकातिर आम नागरिक महामारीको त्रासमा फसिरहेका बेला अर्कातिर भूगोलको चिन्ता थपियो । यस्तो बेला राष्ट्रिय संकल्पको जरुरी थियो, सम्पूर्ण राजनीतिक शक्ति नै एक ठाउँमा उभिनुपर्ने आवश्यकता थियो । तर, नेकपाको आन्तरिक शक्ति संघर्षले अन्तर दल होइन, आफ्नै दलभित्र एकमत देखिएन । कतिसम्म भने अकस्मात प्रधानमन्त्री ओलीले जारी वर्षे अधिवेशन अन्त्यको गरिदिए । यसको कारण संसदमा विजनेश नभएर अथवा कुनै जोखिम रहेकाले नभएर पार्टीभित्र बलियो बन्नका लागि अधिवेशन अन्त्य गरिएको थियो । तर, ढिलै पनि नेकपाभित्रको कलह साम्य भएको छ ।
शुक्रबारको स्थायी कमिटी बैठकले नेकपाभित्र विवाद हल गर्नेगरी १५ पृष्ठ लामो प्रतिवेदन पारित भएको छ । पाँच वर्षसम्म ओली नै प्रधानमन्त्री रहने र नेकपाको कार्यकारी अध्यक्ष भने पुष्पकमल दाहाल प्रचण्ड रहने सहमति जुटेको छ । अर्थात्, नागरिकको जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेको नेकपाको विवादले किनारा लिएको छ । तर, अझै पनि नेकपाभित्र तुस कायमै रहेको देखिन्छ । अतः सत्तारुढ नेकपाभित्रको सहमति जुटेको अनुभूति त्यो बेला मात्रै अनुभूत हुनेछ, जुन बेला सरकारको पूरा ध्यान नागरिकको जीवन जोगाउनमा केन्द्रित हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies