डा.गोविन्द केसीले फेरि अनशन शुरु गरेका छन् । यसपटक डा.केसीले अनशनस्थल जुम्ला बनाएका छन् । बिपन्न नागरिकको सेवामा सधैं तत्पर रहने डा.केसी त्यसैपनि दुरदराज पुग्ने गरेका छन् । यसपटक पनि उनी जुम्ला पुगेर ६ बुँदे मागसहित अनशन बसेका छन् । डा. केसीको प्रमुख माग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु गर्नुपर्ने रहेको छ । यसअघि पनि उनले राजधानी उपत्यकामा नभएर दुर्गम क्षेत्रमा एमबीबीएस कार्यक्रम सञ्चालनको अनुमति दिनुपर्ने माग राख्दै लामो–लामो अनशन गरिसकेका थिए ।
यसपटक डा. केसीको मागको अजेण्डामा निषेधाज्ञा र लकडाउनको अन्त्य पनि परेको छ । मास्कको प्रयोग र सामाजिक दुरी बढाएर निषेधाज्ञा र लकडाउन भने अन्त्य गरिनुपर्ने डा.केसीको माग रहेको छ । सायद, मधेशका गाउँ र कर्णालीका कन्दाराहरुमा घुम्दा डा.केसीले निषेधाज्ञा र लकडाउन उचित देखेनन् होला । त्यसैले उनले यसलाई आफ्नो प्रमुख मागमा समेटेका छन् ।
तर, पीसीआर परीक्षण ब्यापक बनाउनुपर्ने समेत उनको माग छ । सँगै, उनले विभिन्न भ्रष्टाचार प्रकरणमा जोडिएकाहरुमाथि छानबिनको माग गरेका छन् । सेक्युरिटी प्रेस खरीद, दरबारमार्गको जमिन, बालुवाटार जमिन, स्वास्थ्य सामग्री खरीद प्रक्रियामा ओम्नी समूहको बेथिति लगायत माथि समेत उनले छानबिनको माग गरेका छन् । डा. केसीले अख्तियारका वर्तमान र पूर्व पदाधिकारीमाथि समेत कार्बाहीको माग गरेका छन् । सत्ताको इसारामा ठूला भ्रष्टाचारका मुद्दामा छानबिन नभएकाले अख्तियारकै पदाधिकारीमाथि डा.केसीले आशंका गरेका छन् ।
अर्थात्, यसपटक पनि डा.केसीले उठाएका मागहरु अनुचित छैनन् । तर, उठाउनेपर्ने मागहरुको बदलामा भने उनले पुरानै शैली (सत्याग्रह) रोजेका छन् । त्यसैपनि डा.केसी सत्याग्रहको पर्याय देखिदै आएका छन् र हरेकजसो अनशनलाई उनले उपलब्धिमुलक बनाउँदै आएका छन् । डा.केसीको माग यसपटक पनि पूरा गर्नेपर्ने विषय हुन् । यसमा आशंका गरिरहनुपर्ने अवस्था छैन । हुन त डा.केसी अहिलेको सत्ताको सवैभन्दा बढी बिझाएका व्यक्ति बनेका छन् । आफ्नै खर्च र ज्ञान प्रयोग गरेर राज्य पुग्न नसकेको ठाउँहरुमा पुगेर डा.केसीले ब्यक्तित्व निर्माण गरेका छन् । त्यही कारण सत्तासिनहरुले उनलाई बेला बेला दुःख दिने गरेका छन् ।
यसपटक पनि केसीले सत्याग्रहको हिम्मत गरेका छन् । विधिको शासन र नैतिकताको बलमा बनेको सरकारले सत्याग्रहलाई गम्भीरता पूर्वक लिनुपर्ने हुन्छ । विश्वास गरौं, सरकारले डा.केसीको माग बेलैमा सम्बोधन गर्नेछ र उनलाई फेरि पनि जनस्वास्थ्यमा खटिन प्रेरित समेत गर्नेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies