
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले वैदेशिक रोजगार क्षेत्रका संस्थाहरूको साझा मञ्च बनाउनुपर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको १०औं साधारणसभाको उद्घाटनका अवसरमा उनले उक्त धारणा राखेका हुन् ।
उनले आफू संघको प्रथम उपाध्यक्ष रहेको बेलादेखि नै सरोकारवालाहरूको साझा मञ्चको आवश्यकतामा जोड दिँदै आएको भए पनि हालसम्म त्यसका लागि पहल हुन नसकेको बताए ।
उक्त मञ्चमा संघ, महासंघ, स्वास्थ्य व्यवसायी, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल र नागरिक समाजका प्रतिनिधि समावेश हुनुपर्ने उनको भनाइ थियो ।
वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित तथा मर्यादित बनाउन अभिमुखीकरण व्यवसायीको भूमिका महत्वपूर्ण हुने भन्दै अध्यक्ष खत्रीले अभिमुखीकरण व्यवसायीबीच एकता अनिवार्य रहेको बताए ।
संघ वैदेशिक रोजगारमा जाने श्रमिकको सुरक्षाका लागि सबै क्षेत्रमा सिन्डिकेटरहित अवस्थाको सुनिश्चितता गर्न लडिरहेको उल्लेख गर्दै उनले त्यस कार्यमा वैदेशिक रोजगार क्षेत्रका सरोकारवालाहरूको एकता र समर्थन आवश्यक रहेको बताए ।
सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका प्रतिनिधि अशोक रानाले बदलिँदो अवस्थामा सूचना र जनचेतनाको कमीले विदेशमा नेपाली श्रमिकहरूको अकालमा मृत्यु हुने, अंगभंग हुने तथा दीर्घरोगी हुने संख्यामा वृद्धि भएको बताए । उनले अभिमुखीकरण व्यवसायीलाई तालिमका कार्यक्रम प्रभावकारी बनाउन सुझाव दिए ।
महासंघका निवर्तमान अध्यक्ष राजाराम गौतमले आफ्नो सात वर्षको नेतृत्व अवधिमा अभिमुखीकरण तालिमका कार्यक्रममा सुधारका धेरै कार्यक्रम अघि बढाएको बताए । कतिपय अवस्थामा व्यवसायीबीच एकता र सहकार्यको अभावमा व्यवसायीमैत्री नीतिहरू अघि बढाउन सफल नभएको समेत उनले उल्लेख गरे ।
महासंघका तदर्थ कार्यसमिति संयोजक तुनुकाजी पौडेलको सभापतित्वमा सम्पन्न साधारणसभाको उद्घाटन कार्यक्रममा बाबुराम खड्काले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रम सञ्चालन गरेका पूर्वअध्यक्ष पूर्णबहादुर मल्लले महासंघको यसअघिको नेतृत्व एकपक्षीय भएको कारण व्यवसायीको लागत बढ्ने, तर प्रतिफल प्राप्त नहुने अवस्था रहेको बताए । उनले सहमतिका आधारमा व्यवसायीमैत्री नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।