काठमाडौं : नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७ सोमबार राजधानीमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील कलाकारहरुलाई सम्मान एवं प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको उक्त अवार्ड बितरण कार्यक्रममा गीत संगीत , चित्रकला र सौन्दर्य कलामा क्रियाशील व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चूडामणि देवकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, गायिका मन्जु पौडेल, निर्देशक प्रकाश भट्ट, कलाकार विनोद केसी, कलाकार उत्तम केसी, निर्माता मदुकुमार श्रेष्ठ, समाजसेवी प्रकाश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । अवार्डको सल्लाहकार समूहमा चलचित्र लेखक तथा निर्देशक मोहन निरौला, चलचित्र निर्देशक, कलाकार एवं संचारकर्मी दिनेश डिसी, वरिष्ठ गायिका देविका बन्दना, वरिष्ठ रंग पत्रकार विदुर गिरी, अभिनेता तथा निर्माता नवराज श्रेष्ठ रहेका थिए ।
त्यस्तै आयोजक संस्था क्रियटिभ इन्साइट मिडियाको आयोजनामा भएको उक्त अवार्ड कार्यक्रमलाई मिडिया सोलुसनले इभेन्ट व्यवस्थापन गरेको हो । आयोजक कमिटीमा अध्यक्ष सूर्य चन्द, संयोजक सविता पोखरेल, कार्यक्रम निर्देशक सुमन पण्डित, सदस्य सचिव रोशन पोखरेल, सदस्यद्वय तुलसी गिरी भावुक र सन्दिप महत रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष चन्दले संगीतकर्मीहरुले लकडाउनको परिस्थिति र कोरोनाको कहरसँगै पनि यो कार्यक्रमलाई विश्वास गरेर सहभागी भएकोमा धन्यवादका साथ कलाक्षेत्रमा क्रियाशीलहरुलाई सम्मान तथा अवार्ड प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे ।
त्यस्तै प्रमुख अतिथि शहरी विकास राज्यमन्त्री मानन्धरले कला क्षेत्रमा निरन्तर क्रियाशील रहेका कलाकारहरुलाई सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै यस्तो कार्यक्रमले कलाकारलाई अझ उर्जा मिल्ने बताए ।
कार्यक्रममा सहभागी भएका कलाकारहरुमध्येबाट निर्णायकहरुले उत्कृष्ट १ घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न ६२ विधामा अवार्ड प्रदान गरिएको थियो । सोना अमात्यले सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड चुम्न सफल भइन् भने आभास श्रेष्ठले सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड चुम्न सफल भए । आधुनिक संगीतकार विकास चौधरी भए भने आधुनिक गीतकार हरि उप्रेतीले चुम्न सफल भए ।
त्यस्तै उत्कृष्ट दसैं गीत गायक लोक पौडेल भएभने उत्कृष्ट मौलिक गायिका सुनिला गुरुङले चुम्न सफल भइन् । त्यस्तै मानसराजले सर्वोत्कृष्ट पप गायकको अवार्ड चुम्न सफल भए भने गायिका लक्ष्मी पुरीले सर्वोत्कृष्ट पप गायिकाको अवार्ड चुम्न सफल भइन् । त्यस्तै कृष्ण केसीले सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए भने सविता परियारले सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड चुम्न सफल भइन् । त्यसैगरी वर्षको पपुलर मोडलतर्फ रिना थापाले अवार्ड चुम्न सफल भइन् भने दर्शक स्रोताहरुले मन पराएको आधारमा वर्षको पब्लिक च्वाइस अवार्ड सुरेन्द्र कुमार दाहाल (एसके दाहाल)ले चुम्न सफल भए ।
त्यस्तै पपुलर गायिका लोकदोहोरीतर्फ सिता केसीले अवार्ड चुमिन् भने पपुलर गायक लबकुमार भट्टले अवार्ड चुम्न सफल भए । त्यस्तै पपुलर गायिका आधुनिकमा सुजाता केसीले आवर्ड चुम्न सफल भइन् भने पपुलर गायिका तिजतर्फ कोपिला गौतमले अवार्ड चुम्न सफल भइन् । त्यस्तै सर्वोत्कृष्ट युगल गायन आधुनिकमा शिखर सन्तोष र सुष्मा पूर्णिमा अर्यालले चुम्न सफल भए भने पूर्वेली युगल गायन अवार्ड मेनुका राई र युवा राईले चुम्न सफल भए ।
अवार्डमा आधुनिक, लोकदोहोरी, पप, लोकपप, आधुनिक पप, दशैं गीत, तिज गीत र पूर्वेली गीत गरि विभिन्न ६२ विधाका स्रष्टा र सिर्जनाले अवार्ड चुमेका थिए । त्यस्तै अवार्ड कार्यक्रमको अवसरमा सौन्दर्य व्यवसाय, समाजसेवी, कलाकार, गीतकार, खेलाडी, पत्रकार लगायत समाजमा योगदान पु¥याएका २० जना व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies