एजेन्सी : ब्राजिलमा कोरोना खोपको चिकित्सकीय परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी एस्ट्राजेनेकाले संयुक्त रुपमा बनाइरहेको कोरोना खोपको परीक्षणमा सहभागी एक जनाको मृत्यु भएको हो ।
सीएनएन ब्राजिलका अनुसार मृत्यु हुने व्यक्ति रियो डि जेनेरियोका २८ वर्षीय व्यक्ति हुन् । उनको मृत्यु कोरोना भाइरसको संक्रमणबाट सिर्जित जटिलताका कारण भएको पनि दाबी गरिएको छ ।
ब्राजिलमा तेस्रो चरणको चिकित्सकीय परीक्षण गरिरहेको साओपाउलोको संघीय विश्वविद्यालयका अनुसार यस घटनाको छानबिनका लागि बनाइएको स्वतन्त्र समितिले परीक्षण जारी राख्न सुझाव दिएको छ ।
सहभागीको मृत्यु भए पनि ब्राजिलले चिकित्सकीय परीक्षण जारी राख्ने बताएको छ । चिकित्सकीय परीक्षणको सुरक्षाका बारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको अक्सफोर्ड विश्वविद्यालयले जनाएको छ ।
एस्ट्राजेनेकाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । ब्राजिलका ६ सहरका करिब ८ हजार जनालाई कोरोना खोपको पहिलो डोज दिइएको छ । तीमध्ये केहीलाई दोस्रो डोज पनि दिइएको विश्वविद्यालयले जनाएको छ ।
अक्सफोर्ड विश्वविद्यालय तथा एस्ट्राजेनेकाले विकास गरेको खोप कोरोना भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित साबित हुने विश्वको पहिलो खोप बन्ने अपेक्षा छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies