काठमाडौं : मलेसियास्थित नेपाली दूतावासले संयमित भई दशैं मनाउन वैदेशिक रोजगारमा रहेका कामदारसहित नेपाली समुदायलाई अनुरोध गरेको छ । दशैं तिहार मनाउने नेपालीका आफ्नै विधि र संस्कृति भएपनि आफू बसोबास गरेको मुलुकको संस्कृति, आफु आवद्ध रहेको पेशा तथा व्यवसायलाई पनि मध्यनजर गर्न दूतावासले आग्रह गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरलगायतका क्षेत्रमा हाल आवागमन नियन्त्रण आदेश जारी भएको छ ।
मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बिहीबार विजयादशमीको शुभकामना विज्ञप्ति जारी गर्दै नेपाली समुदायमा उक्त आग्रह गरेका हुन् । मलेसियास्थित नेपाली दूतावासले मलेसियासहित ब्रुनाई, फिलिपिन्स र ईण्डोनेशियामा रहेको नेपालीलाई हेर्ने गरेकोे छ । राजदूत पाण्डेले ती सबै मुलुकमा रहेका नेपालीलाई शुभकामना प्रकट गरेका छन् ।
राजदूत पाण्डेले मलेसियाबाट कामदार स्वदेश फर्किने प्रक्रिया सहज भएको भन्दै मलेसियास्थित दूतावासको सहजिकरणमा हालसम्म १६ हजार ७ सय २१ जना नेपाली स्वदेश फर्केको जनाएका छन् । दूतावासले कोभिड संक्रमणको अप्ठ्यारो परिस्थितिमा एकअर्का प्रति सहयोग, धैर्यता र संयमता आवश्यक रहेको भन्दै हालसम्मको व्यवहारप्रति आभार प्रकट गरेको छ ।
मलेसियामा हाल साढे तीन लाख नेपाली वैधानिकरूपमा काम गरिरहेका छन् । सरकारले पुनः श्रम स्वीकृति दिन शुरु गरेपछि बिदामा स्वदेश आएका नेपाली कामदार रोजगारीमा गएपनि नयाँ कामदार जान पाएका छैनन् । मलेसियाले आगामी नयाँ वर्ष अर्थात् जनवरी पछि मात्र नयाँ कामदारको स्वीकृति दिने बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies