गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुलाका दुई वटा सीमापुल खुलेको तीन दिनमा करिव १ हजार जनाले आवतजावत गरेका छन् । भारतीय पेन्सनधारी नेपाली र भारतीय बैंकमा कारोबार रहेका नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै दुबै देशका स्थानीय प्रशासनबीच कार्तिक ५ गतेदेखि ७ गतेसम्म दार्चुलाको खलंगा र जौलजिवी नाका खोल्ने सहमित भएको थियो ।
दुबै देशका प्रशासनको समन्वयपछि बुधबारबाट शुक्रबारसम्म प्रतेक दिन विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म दार्चुलाको खलंगा र जौलजिवी नाका खुल्ला गरिएका थिए ।
सीमापुल खुलेको पहिलो दिन खलंगा सीमा नाकाबाट एक सय ६८ जना महिला र एक सय आठ जना पुरुषले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भाष्कर चन्दले मध्यान्हलाई जानकारी दिए ।
त्यस्तै खलंगा सीमानाकाबाटै विहीबार ८० महिला र एक सय २३ जना पुरुष गरी दुई सय तीन जना र शुक्रबार ८५ महिला र ६३ जना पुरुष गरी एक सय ४८ जनाले आवत जावत गरेको चन्दले बताए ।
तीन दिनको अवधिमा खलंगा सीमानाका बाट तीन सय ३३ महिला र दुई सय ९४ पुरुष गरि छ सय २७ जनाले आवत जावत गरेका छन् । त्यस्तै जौलजिवी सीमानाका खुलेको पहिलो दिन बुधबार ४१ महिला र १७ पुरुष गरि ५८ जनाले आवत जावत गरेका छन् ।
यस्तै विहीबार ५६ महिला र ८५ पुरुष गरी एक सय ४१ जना र शुक्रबार ३२ महिला र ७६ पुरुष गरी एक सय आठ जनाले आवत जावत गरेका छन् । तीन दिनको अवधिमा जौलजिवी सिमानाकाबाट एक सय २९ महिला र एक सय ७८ जना पुरुषले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका दुबै नाकाबाट चार सय ६२ महिला र चार सय ७२ पुरुष गरी कुल नौ सय ३४ जना भारतीय पेन्सनर, भारतीय बैंकमा खाता रहेका नेपाली नागरिक र केहि स्थानीयहरुले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बुधबार जौलजिवी नाकामा समयमै पुल नखुल्दा नेपालीहरु भारतमै अलपत्र परेका थिए । शुक्रबार खलंगा नाका निर्धारित समय भन्दा अगाडी नै भारतीय पक्षले बन्द गरीदिदा केहि नेपाली भारतमै रोकिएका थिए भने भारत फर्किन लागेकाहरु बीच पुलमै अड्किएका थिए । दुबै देशको स्थानीय प्रशासनबीचको समन्वयपछि शुक्रबार बेलुकी ५ बजेतिर पुल खुलाएर फसेका दुबै देशका नागरिकहरुको उद्धार गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies