सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पंक्ति उत्साहित बनेको छ । सरकारले गरेका निर्णयमा आम तहमा जस्तो आलोचना भइरहेको थियो, त्यसबारे शान्त देखिएका नेकपाका नेता–कार्यकर्ता सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयबाट उत्साहित बनेका हुन् । हुन पनि उक्त मन्त्रिपरिषद् बैठकले निकै महत्वपूर्ण निर्णय गरेको छ । विशेषगरी कोरोनाको परीक्षण र संक्रमितको उपचार नगर्ने निर्णयबाट सरकार पछाडि हटेको छ ।
हुन त सर्वोच्च अदालतले नै कोरोनाको परीक्षण र संक्रमितको उपचार नगर्ने सरकारको निर्णयमा अवहेलना मुद्दा अगाडि बढाएको थियो । सर्वोच्चको आदेश पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफ्नो निर्णय सच्याउन बाध्य थियो । तर, सरकारले भने यसबारे निर्णय लिएको थिएन । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भने कोरोनाको परीक्षण र सवै संक्रमितको उपचार गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले कोरोना महामारी रोग भएकाले यसको उपचारको जिम्मा सरकारले लिनुपर्ने आदेश दिएको थियो । तर, सरकारले सर्वोच्च अदालतको आदेश बिपरीत निर्णय गरेपछि जनस्तरमा ब्यापक विरोध भएको थियो ।
यद्यपि, स्वयम् प्रधानमन्त्री देखि सरकारका मन्त्रीहरुले धनाढ्यको उपचार सरकारले नगर्ने अडान लिदै आएको थियो । यसमा नेकपा पंक्तिको मौनता लगभग लज्जाबोध नै थियो । अहिले तिनै पंक्ति खूशी देखिएका हुन् । यसबाहेक मन्त्रिपरिषद् बैठकले विदेशबाट आयात गरिने पुस्तकमा लगाएको दश प्रतिशत कर छुट गर्ने निर्णय गरेको छ । अघिल्लो आर्थिक वर्षदेखि पुस्तकमा लगाउन थालिएको करबारे पनि उस्तै आलोचना भएको थियो । तर, यसमा सरकारले कुनै पुनर्विचार गरेको थिएन । यस्ता थुप्रै निर्णय छन्, जसलाई सरकारले निकै पछि मात्रै पुनर्विचार गरेको छ । सच्याएपछि भने सरकारको प्रशंसा कम्तिमा सत्तारुढ पंक्तिबाटै भएको छ ।
अहिले कोरोना कहरका बीच सरकारले जस्ता निर्णयहरु लिएका छन् र पछि सच्याएका छन् । यसले एकातिर सरकारले पर्याप्त अध्ययन बिना निर्णय गरेको पुष्टि हुन्छ भने अर्कातिर सच्याउन ढिलाई गर्दा सरकारको अलोकप्रियता बढेको छ । सरकार पनि एक जीवन हो, सरकारको नेतृत्व गर्नेबाट पनि कमजोरी हुन्छन् । तर, गल्ती नसच्याउन ढिलाई गरेकै कारण नेकपा सरकार बारम्बार आलोचित हुँदै आएको छ । तसर्थ, आइन्दा यसतर्फ ध्यान दिन जरुरी छ । जसले थोरै भएपनि आलोचनाबाट सरकारलाई मुक्त गरिदिनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies