राज्य कोषको ठूलो रकम नेताहरुको उपचारमा सकिने गरेको भनी बेला–बेला आलोचना हुने गरेको छ । मृत्यु भइसकेका पूर्व प्रधानमन्त्रीहरु सुशील कोइराला र तुलसी गिरीको उपचारमा सकिएको रकमबारे समेत अहिलेसम्म चर्चा हुने गरेको छ । राज्य कोषको रकम नेताहरुको उपचारमा खर्चिएको प्रशंगले अहिले पनि मृत्यु भइसकेकाहरुले समेत आलोचना खेप्नु परिरहेको छ । पूरै जीवनमा राजनीतिमा बिताएका पूर्व मन्त्रीहरु खुमबहादुर खड्का, लोकेन्द्रबहादुर चन्द, महिन्द्र राय यादव, गोविन्दराज जोशी देखि पूर्व राष्ट्रपति रामवरण यादवले समेत राज्य कोषबाट उपचार खर्च लिएकोमा आम साधरणमा आक्रोश उत्पन्न हुने गरेको छ ।
अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत राज्य कोषबाट उपचार गराए । तीन पुस्ते राजनीतिक परिचय रहेकी सुजाता कोइरालाको उपचार खर्चबारे निकै ठूलो हंगामा गरिएको थियो । अलिहे पनि नेताहरुको उपचारमा सरकारको खर्च हुने गरेको छ । पूर्व उपप्रधानमन्त्री रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नेगरी विहीबार बसेको मन्त्रिपरिषद्ले निर्णय गरेको छ । अहिले केसीको स्वास्थ्य अवस्था बिग्रिएकाले सरकारको निर्णयबारे ठूलो आपत्ति देखिएको छैन ।
बरु, उनको परिवारका सदस्य र केसीको पार्टी बीच खटपट देखिएको छ । जनमोर्चाले पार्टी निर्णयबाटै केसीको उपचार खर्चको अभाव भएको निर्णय लिदै सहयोग मागेको छ । तर, केसीका छोराले आफूहरुले उपचार गर्न सक्ने, तर बद्नाम गराउन खोजिएको भनी टिप्पणी गरेका छन् । केसीका छोराको टिप्पणी, पार्टी तथा सरकारको निर्णयले सायद समयान्तरमा बहस सिर्जना हुने अनुमान गर्न गाह्रो पर्दैन ।
तर, सत्य के पनि हो भने उपचार हरेक नागरिकले पाउनुपर्छ । अझ, राज्यको उच्च तहमा रहेका र व्यवस्था परिवर्तनमा जीवन खर्चिएकाहरुको उपचार सरकारले गरिदिनु आवश्यक नै हो । अर्कोतिर, राज्य कोषबाट नेताहरुको उपचार हुँदा विरोध हुनुको अर्थ भने नागरिकले पनि उपचार पाउनुपर्छ भन्ने धेयका साथ उठेको आवाज भनेर बुझ्नु उचित हुन्छ । बरु, राज्य कमजोर हुनु, देशका पार्टीहरु बलियो नहुनु र संस्थागत प्रणालीको अभावमा यस्ता टिप्पणी हुने गरेको हो । त्यसका लागि राज्य, समाज र पार्टीहरु बलिया हुन जरुरी छ । केसीको उपचारबारे गरिएको पार्टी आह्वान यताको घटनाक्रमले पनि देश र पार्टी कमजोर हुँदा यस्ता विषय विवादमा आउने गरेको बुझ्न सकिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies