काठमाडौं : संयुक्त अरब ईमिरेट्स (यूएई)ले गत मार्च अगाडि भिसाको म्याद सकिएका विदेशीहरुलाई जरिवाना नलिई स्वदेश फर्किन पाउने व्यवस्था गरेको छ । गत मार्च १ अगाडि नै भिसाको म्याद सकिएकाहरुले यस वर्षको अन्त्यसम्म जरिवाना नतिरी स्वदेश फर्किन पाउने भएका हुन् । त्यहाँको फेडरल अथोरिटी फर आइडेन्टीटी एण्ड सिटिजनसीप (आईसीए) ले मार्च अगाडि ओभरस्टे भएकाहरुको जरिवाना छुट सम्बन्धी घोषणा गरेको हो ।
यसअघि मार्च १ अगाडि भिसाको म्याद सकिएर अवैधानिक हैसियतमा बसिरहेकाहरुलाई बिना जरिवाना स्वदेश फर्किने अवधि नोभेम्वर १७ सम्मको म्याद दिएको थियो । सो समयावधिमा डेढ महिना थप भई आगामी डिसेम्बर ३१ तारिखसम्म पुगको छ । यसले कोरोना संक्रमणका कारण रोजगार गुमाई जरिवाना रकम तिर्न नसक्ने अवस्थामा रहेकाहरुलाई स्वदेश फिर्ता प्रक्रिया सरल भएको एक नेपालीले बताए । यसअघि ओभरस्टे वापतको जरिवाना तिर्न नसकेका कारण केही नेपाली कामदारहरु विमानस्थल आई रोकिनु परेको थियो ।
गल्फ न्यूजका अनुसार आईसीएका महानिर्देशक सईद रकान अल रासिदीले जरिवाना छुटको सुविधा आवासीय, पर्यटक वा जुनसुकै प्रकृतिको भिसा वाहकले प्राप्त गर्न सक्ने बताएका छन् । कोरोनाका कारण रोजगारी गुमाएपछि नेपाली कामदारहरु समस्यामा रहेका छन् । सरकारले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरु विदेशमा नरहेको भन्दै उद्धार उडान बन्द गरेको छ । तर सम्बन्धित देशमा नेपाली कामदारहरु स्वदेश फर्किने टिकट किन्न आवश्यक पर्ने रकम नभएका कारण समस्यामा परेको बताइरहेका छन् ।
सरकारले उद्धार उडान स्थगित गरेपछि कतिपय नेपाली विदेशमै अलपत्र परिने हो कि भन्ने चिन्ताले आतंकित बनेका छन् । कतारमा रहेका दाङका कमलदेव ओली कम्पनीले सात महिनादेखि तलव नदिएको भन्दै कतार जाँदा लागेको ऋण समेत तिर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘कम्पनीले तलव र स्वदेश फर्किने टिकट नदिँदा अलपत्र भएर साथीहरुको दानमा बस्नु परेको छ । सरकारले उद्धार गर्छ भन्ने आश थियो । तर अब त्यो पनि हराउँदै गएको छ ।’
यूएईमा रहेका काभ्रेका नारायण क्षेत्री कोरोनाका कारण रोजगारी गुमाएर तीन महिनादेखि अलपत्र अवस्थामा रहेका छन् । रोजगारी गुमेपछि कम्पनीले दिएको सानो कोठामा बसेको बताउँदै उनले स्वदेश फर्किन साथमा रकम नभएको बताए । उनले भने, ‘रोजगारी गुमेका कारण साथमा पैसा छैन । उद्धारको आग्रह गर्दै नेपाली दूतावास धाउँदा धाउँदा साथमा भएको केही रकम पनि सकिएर वाक्क लाग्न थालेको छ ।’
कोरोना भाइरस संक्रमणका कारण स्वदेश फर्किनुपर्ने बाध्यतामा करिब ७० हजार नेपाली रहेको अनुमान नेपाली संघ संस्थाहरुको छ । तर सरकारले कोरोना महामारीपछि विदेशमा अलपत्र पर्ने नेपाली कामदाहरुलाई उद्धार गरी स्वदेश फर्काउन गत साउनमा वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारहरुको उद्धार तथा फिर्ता सम्बन्धी निर्देशिका २०७७ जारी गरेको थियो । उक्त निर्देशिकाले विदेशमा बाध्यात्मक अवस्थामा फर्किनु पर्ने सबै कामदारहरुलाई नसमेटका कारण अलपत्र पर्नेहरुको संख्या बढ्न थालेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies