जनताका प्रतिनिधि सम्मिलित संविधानसभाबाट जारी नेपालको संविधान कार्यान्वयनको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छ । संविधानले दिएको अधिकार प्रयोग गरी मुलुकलाई अगाडि बढाउनुपर्ने उनीमाथि जनादेश पनि हो । मुलतः सात दशक लामो जनसंघर्ष, जनविद्रोह र क्रान्तिबाट प्राप्त उपलब्धी संस्थागत गर्नु ओलीका लागि कम चुनौतीपूर्ण थिएन । विशेषगरी संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशिता कार्यान्वयनको कार्यभार ओलीले बोक्नुपर्ने थियो । उनलाई सजिलो पनि थियो । किनकि दुई तिहाइ जनमतको बलियो सरकारको नेतृत्व गर्ने ओलीका सामुन्ने स्वर्ण अवसर पनि थियो ।
तर, त्यस्तो भएन । ओलीले एतिहासकै स्वर्ण अवसर गुमाए । अहिले उनी एकपछि अर्को असंवैधानिक कदम चालिरहेका छन् । त्यसैको पछिल्लो कदम हो, साइबर सेना बनाउने निर्देशन । ओलीले आफ्नो समूहका युवा संघलाई साइबर सेना बनाउने अनुमति दिएका छन् । त्यसैअनुसार, साइबर सेना गठन प्रक्रिया अगाडि बढाइएको छ । कम्युनिष्टहरुले बनाउने छापामार जस्तै प्रकृतिको यो साइबर सेनाले ओली र उनी नेतृत्वको पार्टी नेताहरुमाथि आलोचना गर्नेमाथि जाइलाग्ने छन् ।
कतिसम्म भने यो सेनाले सरकारको कसैले आलोचना गरेमा समातेर प्रहरीलाई बुझाउनेछन् र साइबर क्राइम सम्बन्धी मुद्दा चलाउन प्रेरित गर्नेछन् । अर्थात्, सत्ताको नेतृत्व गरिरहेका ओली र उनी समर्थकलाई कसैले प्रश्न उठाउन पनि डराउनुपर्ने अवस्था बन्ने खतरा बढी छ । तर, यसलाई स्वयम् ओलीले कम्युनिष्ट बचाउने मोर्चा भनी परिभाषित गरिदिएका छन् । ओलीले बनाउने यो साइबर सेनाले पक्राउकै अवस्थामा उत्रने हो भने मुलुकले विधिको शासनमाथि सिंधै धावा बोल्नेछन् भने लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्न बल पुग्नेछ ।
प्रधानमन्त्री आफैमा यो देशको सुरक्षा प्रमुखहरुको पनि प्रमुह हुन् । सुशासन कायम गराउन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी ओलीकै नेतृत्वमा चलिरहेको छ । अझ साइबर क्राइम सम्बन्धी प्रहरीको छुट्टै साइबर ब्यूरो छदैछ । यस्तो बेलामा चाल्न लागिएको यो कदमले शान्ति, संविधान, सुशासन र लोकतान्त्रिक प्रणालीका लागि पनि खतरा हुनेछ । किनभने, प्रधानमन्त्रीको काँधमा चढेर इतर पक्षलाई आक्रमण गर्नेगरी दस्ता निर्माण गर्दा शक्ति सन्तुलन, विधिको शासन र लोकतान्त्रिक प्रणाली पूर्णतः ध्वस्त हुन सक्छ । त्यसैले असंवैधानिक तरिकाले संसद् विघटन गरेका ओली फेरि लोकतन्त्र हरणकर्ता बन्ने भय ज्यादा छ । त्यसबाट जोगिन ओलीले यस्ता कदम तत्काल रोक्नुपर्छ । रोक्न नागरिक तहबाट दबाव सिर्जना आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies