काठमाडौ : झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक (भ्याट बिल) प्रयोग गरी राजश्व छलि गर्ने १० वटा फर्म (कम्पनी)विरुद्ध १ अर्ब ४ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ । राजश्व अनुसन्धान विभागले १० जनालाई मुख्य अभियुक्त र ७ जनालाई मतियारको रुपमा प्रस्तुत गरेर १ अर्ब ४ करोड २४ लाख ९९ हजार ७ सय २८ रुपैयाँ बिगो असुल, जरिवाना र कैद सजाय माग दाबी गर्दै सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
विभागले मुख्य अभियुक्त भनेर दाबी गरेका सरोज कुमार मिश्रले ९ वटा कम्पनीबाट १ अर्ब रुपैयाँभन्दा बढी राजश्व छलि गरेका छन् । विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ घर भएका मिश्रले झुटा तथा नक्कली विजकका मुख्य कारोबारी हुन्ु । मिश्रले संजय भनिने जय किशोर साह र परमेश्वर साह समेतको मिलेमतोमा कम्पनीहरु खडा गरेर नक्कली विजयकको कारोबार गर्दै आएका थिए ।
राजश्व अनुसन्धान विभागका अनुसार मिश्रले प्रो कसर इन्टरनेशनल प्रालि, आरकेएस इन्टरनेशनल प्रालि, एसकेएम एक्टिभ ट्रेडिङ प्रालि, राज एण्ड किशोर इन्टरनेशनल प्रालि, अनन्या इन्टरनेशनल, ब्लु क्रस ट्रेडर्स, जेन सप्लायर्स प्रालि, इन्टरसिटी इन्टरनेशल र स्वीफ्ट इन्टरनेशनल प्रालि नामक कम्पनी खडा गरेका थिए ।
ती कम्पनीमार्फत उनले ३४ करोड ८ लाख ५४ हजार ५ सय ४ रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट), ६४ करोड ८९ लाख १८ हजार ८५ रुपैयाँ आयकर र ५ करोड २७ लाख २७ हजार १ सय ३९ रुपैयाँ लाभांश कर छलि गरेका विभागले जानकारी दिएको छ ।
यस्तै, मिश्रसँगै मिलेमतोमा नक्कली भ्याट बिलको कारोबार गर्ने उमाशंकर सहनीले ३४ करोड ६ लाख ५८ हजार १ सय ३१ रुपैयाँ, सञ्जय भनिने जय किशोर साह र परमेश्वर साहले जनही ५० करोड ५६ लाख ७२ हजार ९ सय १०, उमाशंकर राय भरले २७ करोड ९० लाख ५१ हजार ५ सय ५२ रुपैयाँ र हिरालाल हजाराले ५ करोड १७ लाख रुपैयाँ राजश्व छलि गरेका छन् । यस्तै, वीरेन्द्रकुमार चौधरीले ५ करोड १७ लाख, रामबाबु सहनीले ६ करोड २६ लाख, राम सुन्दर राय भरले १४ करोड ३३ लाख र राजकिशोर सहनी मलाहले १४ करोड ३१ लाख रुपैयाँ राजश्व छलि गरेको विभागले जानकारी दिएको छ ।
विभागले नक्कली भ्याट बिलको कारोबारमा सहयोग गर्ने ३ जना कर सहयोगी र ४ जना लेखा परीक्षक गरी ७ जनालाई पनि मतियारको रुपमा प्रस्तुत गरी प्रतिबादी बनाएको छ । मतियारको रुपमा प्रतिबादी बनाइएकामध्ये कर सहयोगी (झुटा तथा भ्रमपूर्ण लेखा प्रतिवेदनमा सहयोग गर्ने) रमेश घिमिरेबाट ५० करोड २ लाख, गंगाप्रसाद भट्टराईबाट पनि ५० करोड २ लाख र तोयनाथ अधिकारीबाट १४ करोड ३१ लाख रुपैयाँ बिगो असुल उपर र कसुरअनुसार कैद सजायको मागदाबी गरेको छ ।
यस्तै, लेखा परीक्षक दिपक निरौलाबाट ९ करोड, सुरेन्द्र कुमार इङ्गनामबाट ३२ करोड १० लाख, टंक राउतबाट ८७ करोड ५० लाख र दिपककुमार कोइरालाबाट १४ करोड ३१ लाख रुपैयाँ बिगो असुल र कसुरअनुसार कैद सजायको मागदाबी गरिएको विभागले जानकारी दिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies