प्रकाश विक/मध्यान्ह
काठमाडौं : नेपाल सुनचाँदी शिल्प व्यवसायी संघका अध्यक्ष टंक बराईलीले सुनको कोटा तत्काल बढाउनुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड–१९) को प्रभावसंगै सुनको कोटामा कटौती गरिएको भन्दै बजार सामान्य अवस्थामा फर्किदा पनि कोटालाई निरन्तरता दिन उपयुक्त नभएको बताए ।
सरकारले कोभिडको प्रभावसँगै दैनिक १० केजी मात्र सुन ल्याउने निर्णय गरेको थियो । बजार सामान्य भइसक्दा पनि कोटा प्रणाली लागू गरिरहँदा कलोबजारी बढ्ने उनको भनाइ छ ।
नवनिर्वाचित अध्यक्ष बराईलीले नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएको र सिन्डिकेट आफैमा कालोबजारीलाई प्रोत्साहन गर्ने विधि भएकोले सुन आयतमा कोटा लगाउनु जायज नभएको बताए ।
अध्यक्ष बराईलीले नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नभएको बताउँदै भने ‘देशको जनसंख्या बढ्ने, ब्यवसायी बढ्ने, राष्ट्रिय प्रतिब्यक्ति आय बढ्ने, निर्यात पनि बढ्ने र मुलुक समृद्धितर्फ अगाडि बढ्दै गर्दा गहना बनाउने कच्चापदार्थ आयतमा नियन्त्रण मुखि ब्यवस्था कदापि ब्यवसायीलाई स्वीकार्य छैन ।’
धेरै नेपाली वैदेशिक रोजगारीमा रहेको भन्दै उनले नेपालमा सुनको सहज आयातले रोजगारी सिर्जना गर्ने बताए ।
सुनमा कोटा प्रणाली लगाएर नेपाली मौलिक गहनाको उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने सम्भावनामाथि सरकारले आँखा चिम्लेको उनले आरोप लगाए ।
अध्यक्ष बराईलीले सुन खरिदका क्रममा वाणिज्य बैंकहरुले आफू खुशी नीति बनाउँदा व्यवसायीहरुलाई समस्या परेको बताए ।
यसको समाधानकालागि संघले आवाज उठाइरहेको उनको भनाइ थियो । सरकारले रक्सी, गुट्खा, बिलासी गाडी आयातमा कुनै सीमा नतोकेको तर, सुन आयातमा कोटा लगाएर कालोबजारीलाई प्रश्रय दिन खोजिएको उनको आरोप थियो । उनले यस्तो सिन्डिकेट तत्काल अन्त्य गरि कालोबजारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरे ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies