-अनुराग अरुण, ललितपुर
‘मम्मी’ छोरोले रोएर बोलाएको सपना देखेर ग्रेसीको निन्द्रा खुल्छ । हतास हुन्छे शरीर पसिनाले निथु्रकै भिजेको छ । छोरालाई केहि भयो कि भनि चिन्ता लिन थाल्छे । भित्ते घडी हेर्छे रातको १२ः३० बजेको छ ! करिब १७ बर्ष भयो । पतिसँगको सामान्य विवाद र झगडामा ५ बर्षे छोरा र घरलाई चटक्क छाडेर यहाँ प्राईमरी स्कुलमा मास्टरी जागिर गरेर एक्लै बसेकी । छोरोको मायाले रुन थाल्छे । मन ब्याकुल छ । फेरि पनि निदाउन सकेकी छैन ।
९ः०० बजे स्कुलको गेट निर पुग्दा ‘मम्मी’ भन्दै एक युवकले पाउँ छुन्छ । ग्रेसीले ति युवकलाई हेर्छे, लामो खाई लाग्दो ज्यान, आँखामा कालो चश्मा, गोरो र सुन्दर युवक – बाबु तिमी को हौ ? मैले चिनिन ? युवकले भन्छ – ‘मम्मी, म संजय ।’ सामुन्ने आफ्नै छोरा देखेर ग्रेसिको आँखामा तरर आँसु बग्न थाल्छ । अँगालो मारेर सोध्छे – बाबु कस्तो छस् ? संजयले रुँदै – ठिक छु मम्मी । सधै हजुरको याद आउँछ । मम्मी, म सिभिल ईन्जिनियर भईसके । हिजो जागिरको नियुक्ति पत्र बुझे ! हजुरको सम्झना आएकोले मिठाई लिएर भेटन आको – मम्मीलाई मिठाई खुवाउँदै भन्छ ।
छोरोको आँसु पुछी दिँदै ग्रेसीले खुशी हुँदै भन्छे – ये हो र ? मेरो छोरा ईञ्जिनियर भईसकेछ । अनि ड्याडीको के हाल खबर छ ? संजयले बाटोनिर पिठ्यु फर्काएर उभेको मान्छे देखाउँदै भन्छ–उ डैडी पनि सँगै आउनु भएको छ । ड्याडीले अहिलेसम्म हजुरलाई धेरै माया गर्नु हुन्छ ।
ग्रेसीले पर बाटोमा पिठ्यु पर्काएर उभिएको पतिलाई हेर्छे । भक्कानिएर रुन थाल्छे । ‘मम्मी, प्लिज नरुनुस् । जे भो भई हाल्यो । अब घर जाउँ – संजयले मम्मिको आँसु पुछिदिदै भन्छ ।
यो कुरा सुनेर ग्रेसीले आफैलाई सम्हाल्न सक्दिनन् । झन् जोडले भक्कानिएर रुन थाल्छिन् । संजयले मम्मीको काँध समातेर ड्याडी निर लैजान्छ । फर्केर बसेको पति निर पुगेर ग्रेसीले रुँदै सोध्छे – हजुर, कस्तो हुनुहुन्छ ? पति फर्किन्छ उनको अनुहार पुरै आँसुले रुझेको छ । रुमालले आँसु पुछ्दै पतिले भन्छ – ठिकै छु ग्रेसी । तिमीलाई कस्तो छ ? पतिको पुरै अनुहार आँसुले रुझेको देखेर ग्रेसी भुईमा थचक्क बसेर भक्कानिएर क्वाँ क्वाँ गर्दै झन् रुन थाल्छे । साडीले आँसु पुछ्दै रुँदै भन्छिन् – म ठिक छु हजुर ।
पतिले उठाउँदै – नरोउ ग्रेसी । अब घर जाउँ । भक्कानिदै पतिलाई अँगालो मार्दै भन्छे – मैले झगडा गर्दा हजुरले ‘सरि’ किन भन्नु भएन ? मैले घर छाडेर निस्कन लाग्दा हजुरले किन रोक्नु भएन ? भन्नुस् किन रोक्नु भएन ? पतिले रुँदै भन्छ – यति नभनेर मैंले भुल गरे, आई एम सरी ग्रेसी । ग्रेसी क्वाँ क्वाँ रुदै भन्छे – हजुरले यति मात्र भनेको भए ! मैले सुन्दर घर छाडेर यहाँ आउने थिईन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies