राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न शनिवार डल्लु पुगेकी छन् । राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था बुझ्न शितल निवास पुगेको बताएकी छन् । सँगै, समसायिक राजनीतिक विषयमा कुराकानी भएको पनि बताइएको छ । यसरी राष्ट्रपति जस्तो व्यक्ति कुनै नेता विशेषलाई भेट्न उनकै निवासमा पुग्नुलाई निकै चासोका साथ हेरिएको छ । खनालको स्वास्थ्यलाई लिएर चिन्ता गर्नु राष्ट्रपति भण्डारीको मानवीय संवेदनाको कुरा भयो । लामो समयका सहयात्री र कुनै समयका आफ्नै पार्टी अध्यक्ष रहेका खनाललाई भेट्नु र स्वास्थ्य अवस्थाबारे चिन्ता लिनु स्वभाविक हो । तर, भण्डारी जुन संस्थाको नेतृत्व गरिहेकी छन् र अहिलेको राजनीतिक अवस्था जुन अवस्थामा पुगेको छ । यी यावत कुरालाई ध्यान दिदा राष्ट्रपति भण्डारी यसरी हिड्न उचित होइन । नेकपा एमालेको एकता जोगाउने नै चिन्ता हो भने पनि खनालको निवास पुगेर होइन, अन्य कुनै माध्यम प्रयोग गर्न बाञ्छनीय हुने थियो ।
त्यसैपनि भण्डारीको भूमिका आलोचित हुँदै आएको छ । विशेषगरी संविधान मिच्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई राष्ट्रपति भण्डारीले आँखा चिम्लेर समर्थन जनाएकी थिइन् । असंवैधानिक कदम चालेर ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गर्दा सामान्य परामर्श समेत नलिइकन राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरिन् । त्यसअघि, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश देखि दल विभाजन जस्तो संविधानको भावना बिपरीतका ओलीको कदममा हमेसा राष्ट्रपति भण्डारीले समर्थन जनाउँदै आएकी छन् । अहिले फेरि ओली नेतृत्वको सरकार संकटमा परेको छ । त्यस्तो बेला सक्रिय राजनीतिमा रहेका खनाललाई भेट्न जानु राष्ट्रपति संस्थाकै गरिमाका लागि पनि उचित होइन ।
यदि, राष्ट्रपति राजनीतिक विषयमा छलफल गर्न नेताका घरघर पुग्ने प्रवृत्तिको विषय हुन थाल्यो भने उक्त संस्था सँगै गणतन्त्र पनि कमजोर बन्न पुग्नेछ । त्यसैले राष्ट्रपति संविधानका संरक्षक र सेरेमोनियल राष्ट्रप्रमुख हुन् । आज राष्ट्रपतिले निभाउने भूमिका भोलिका लागि नजीरका रुपमा स्थापित हुने मात्रै नभएर प्रणाली र संविधानको भावना बिपरीत समेत हुन जान्छ । यसर्थ, मानवीय संवेदना नै भएपनि र अग्रज नेताको सम्मानकै खातिर भएपनि यसरी खुलेर राष्ट्रपति हिड्नुले राम्रो सन्देश जाँदैन । भलै, त्यो पार्टी विभाजनबाट रोक्ने पवित्र उद्देश्यबाट नगरिएका किन नहोस् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies