मदनकुमार श्रेष्ठ/मध्यान्ह
काठमाडौं : सरकारका क्रियाकलापले अदक्ष नेपाली बेरोजगार युवाहरुलाई सकेसम्म खाडीको चर्को गर्मीमा मजदुरकै दायरामा राखिराख्न चाहेको देखिएको छ । विगतदेखि युरोप, अमेरिका, जापान, इजरायल, क्यानडा जस्ता विकसित देशमा नेपाली युवायुवतीहरुका लागि आकर्षक तलबसहतिको रोजगारको प्रचुर सम्भावना भएपनि नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरणमा ढिलाई गरेर वैदेशिक रोजगारलाई खाडी र मलेसियामा मात्र त्योपनि ‘लेबर’ तहमा केन्द्रित गर्दै आएको छ ।
पछिल्लो पटक खाडी मुलुक कतारबाट आउन लागेको तुलनात्मकरुपमा आकर्षक तलब र सुविधासहितको कतार प्रहरीको रोजगारीको अवसरबाट पनि युवाहरुलाई बञ्चित गराउने देखिएको छ ।
सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता र सन् २०३० को एशियन गेमको आयोजक कतार सरकारले सुरक्षाका लागि पहिलो चरणमा करिब १२ हजार नेपाली युवाहरुलाई अल्पकालीन समयका लागि आकर्षक तलब र सुविधासहित कतार प्रहरीमा रोजगारी दिन चाहे पनि नेपाली प्रशासन र राजनीतिभित्रको बेमेल, ईश्र्या र असंगत कार्यशैलीका कारण करिब ६ महिना अघि शुरु गरिएको छलफलको प्रक्रिया असफलतातर्फ उन्मुख भएको श्रोतहरुले बताएका छन् ।
कतारले विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली युवालाई कतारको प्रहरीमा काम लगाउन नेपाल सरकारसँग अनुमति माग गर्दै पत्र पठाएपनि यस विषयमा निजी क्षेत्रलाई सहभागी गराउने कि नगराउने भन्ने विषयमा अलमल गरेर समय बिताएको श्रोतले बतायो ।
कतारले सन् २०२२ को नोभेम्बर महिनाको २२ तारेखबाट विश्वकप पुटबल आयोजना गर्दै छ । उसले त्यसको करिब दुई वर्षअघि नै सुरक्षाको प्रबन्ध गर्न सुरक्षा गार्डमा संसारमै नाम कमाएको नेपालबाट युवाहरुलाई लैजान गत कात्तिकदेखि प्रस्ताव गरेको थियो । कतारले कामदारबाट कुनै शुल्क नलिने बताएको छ ।
न्यून तलबमा पसिना बगाउने कामदारको सट्टा आकर्षक तलबसहितको रोजगारी पाउने उक्त काम आफैंले व्यवस्थित गर्न नसक्ने नेपाल सरकारले उक्त काम गर्न म्यानपावर कम्पनीलाई दिए प्रति व्यक्ति ८ लाखदेखि १० लाखसम्म रकम असुल गर्ने आशंकामा अलमल्याएको श्रोतको भनाइ छ । नेपालले समयमा निर्णय गर्न नसकेपछि कतारले पाकिस्तान वा अफ्रिकी मुलुकबाट युवाहरु लैजाने तयारी गरेको बताइएको छ ।
यसबारे कतारले नेपाली राजदूतको स्तरमा मात्र नभई नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री गौरीशंकर चौधरीसम्म कुरा पुर्याएको थियो । तर नेपालले राज्यका सबै निकायसँग परामर्श गरी आवश्यक निर्णय गर्ने भन्दै प्राथमिकतामा नराखेर अलमल्याएको बताइएको छ ।
कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज वाग्लेले पनि यस विषयमा गम्भीर भई पटक–पटक स्वदेश आएर परराष्ट्रमन्त्री ज्ञवालीलाई कतारको चासोको यस विषयमा जानकारी गराएका थिए । हाल भारत, बेलायत, सिंगापुरलगायतका देशहरुमा नेपालीहरु भर्ती हुने गरेका छन् । तर कतारका हकमा सो अनुसारको सैन्य वा हतियारधारी भर्ती नभई रोजगारी मात्र रहेको विषयमा नेपाल सरकारलाई पटक–पटक जानकारी गराइएको थियो ।
वैदेशिक रोजगार खुला गरिएको मुलुकमध्ये दक्षिण कोरियामा सरकारी सम्झौता अनुसार नेपाली कामदार गइरहेका छन् । तर जापान, इजरायलसँग समझदारी अनुसार कामदार जान सकिरहेका छैनन् । यतिसम्मकी दुई सरकारकाबीच (जी टू जी) नै सम्झौता गरी सबै शर्तहरु पालना हुने गरी बी टू बी अर्थात् म्यानपावर कम्पनीबाट काम गराउन सकिने विषयमा छलफल भएपनि स्वार्थ समूहको आन्तरिक प्रतिस्पर्धाले यो महत्वपूर्ण विषयमा नेपाल अनिर्णित रहेको बताइएको छ ।
कतार सरकारले राखेको प्रस्तावलाई नेपाल सरकारले संयोजन गर्न सकेको भए चर्को ऋणमा विदेश गएर न्यून तलबमा श्रम बेच्नुपर्ने बाध्यताबाट मुक्त हुनसक्ने सम्बन्धित क्षेत्रका विज्ञहरु बताउँछन् ।
नेपाल सरकारले बाध्यताको वैदेशिक रोजगारी अन्त्य गर्ने बताउँदै आएको छ । उचित समयमा उपयुक्त निर्णय गर्न नसक्दा बेरोजगार नेपाली युवायुवतीहरु विदेशमा दासताको रोजगारी गर्न बाध्य भइरहका छन् ।
यसअघि महिला कामदारहरुका सम्बन्धमा गरिएको यस्तै हचुवा र अपरिपक्क निर्णयले महिला कामदारहरु जिबिकोपार्जनकै लागि असुरक्षित बाटो हुँदै खाडी मुलुक पुग्ने गरेको भन्दै अधिकारकर्मी संघसंस्थाहरुले तत्काल गलत नीति सच्याउन माग गरेका छन् । तर सरकारी पक्षबाट त्यसमा चासो नदेखाउँदा वर्षौ अगाडिदेखि महिलाहरु असुरक्षितरुपमा वैदेशिक रोजगारीमा जानु परिरहेको छ ।
कति आकर्षक कतार पुलिसको माग ?
कतार पुलिसका लागि नेपाल आउन लागेको माग आकर्षक रोजगारीको अवसर मानिन्छ । युवा उमेरका, पाँच फिट सात इन्च भन्दा अग्ला र रिष्टपुष्ट कम्तीमा एसईई उत्तिर्ण गरेका युवाहरुका लागि आउन लागेको यो मागमा जाने युवाहरुको मासिक तलब तीन महिने तालिम अवधिमा तीन हजार रियाल र त्यसपछि मासिक ६ हजार रियाल हुनेछ ।
करार अवधि दुई वर्षको भएपनि आवश्यकता अनुसार त्यसलाई नवीकरण गर्न सकिने प्रावधान छ । मासिक तलब बाहेक अन्य सेवा सुविधाहरु पनि तोकिएको छ । यति आकर्षक रोजगारीको माग नेपालले गर्दै गरेको ढिलाईले अब आउने हो कि नआउने हो अन्योलमै छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies