सांस्कृतिक शहर काठमाडौं उपत्यकामा वार्षिकरुपमा मनाइँदै आएका धार्मिक एवं सांस्कृतिक क्रियाकलाप कोभिड–१९ का कारण धेर–थोर प्रभावित बन्दै आएका छन् । गत वर्षको चैतपछि कोरोना संक्रमणको त्रासले उपत्यकामात्र नभइ देशभर सांस्कृतिक धार्मिक र परम्परागत चाडपर्वहरु प्रभावित बन्न पुगे ।
पछिल्लो केही साता यता कोभिड–१९ को संक्रमण दरमा वृद्धि भएसँगै मानिसहरुमा पुनः त्रास छाएको छ । खुला सीमाना रहेको भारतमा कोरोनाको नयाँ प्रजातिले महामारीको रुप लिइरहँदा नेपालमा सतर्कता अपनाउन थालिएको छ र सरकारले सभा सम्मेलन लगायत कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
चैत २८ गतेदेखि शुरु हुने काठमाडौं उपत्यकाकै एक महत्वपूर्ण जात्रा बिस्का पनि कोरोना कहरका कारण अन्योलमा पर्न गयो । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसलाई कारण देखाउँदै बिस्का जात्रा नगर्ने निर्णय गरेको थियो । प्रशासनको उक्त निर्णयको विरोधमा स्थानीयले प्रदर्शन गर्दै आएका थिए । प्रशासनले सबै क्षेत्र खुला गर्ने र कोरोना भित्रिन नदिन भन्दा जात्रा संचालन गर्न नदिन केन्द्रीत भएको स्थानीयले जसरी भए पनि यसपटक जात्रा गरि छाड्ने चेतावनी दिए । बिस्का जात्रा संचालन गर्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार सुवालले रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले विपक्षीको नाममा अन्तरिम आदेश जारी गरेको छ । यससँगै अब बिस्का जात्रा हुने भएको छ ।
धर्म संस्कार र संस्कृति नेपालको पहिचान हो । त्यसमा पनि उपत्यकामा मनाइने यस्ता जात्राको आफ्नै विशिष्टता रहेको छ । यस्ता क्रियाकलापको निरन्तरताले संस्कृतिको संरक्षणमा महत्वूर्ण भूमिका खेल्ने गरेको छ । त्यसैले यसको निरन्तरतामा रोकावट हुन राम्रो विषय होइन । नेपालको सांस्कृतिक पहिचानमाथि वारम्बार आक्रमण हुने गरेको भन्दै चिन्ता व्यक्त भइरहेको समयमा अन्य राजनीतिक, सामाजिक गतिविधिलाई सामान्यरुपमा सञ्चालन गर्न दिएर सांस्कृतिक पहिचानका विषयलाई रोक्ने खोजेको भन्दै विरोध जनाउनेहरुको मागलाई पनि गम्भीर रुपमा लिन आवश्यक छ ।
मानिसको अस्तित्व रहेमात्र जात्रा, पर्व, संस्कृतिको अस्तित्व रहने कुरामा कुनै शंका छैन । त्यसैले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सावधानीलाई अपनाएर मात्र यस्ता गतिविधी सञ्चालन गर्न आवश्यक हुन्छ । त्यसका लागि सरोकारवालाहरु, सरकारी निकाय र सांस्कृतिक क्रियाकलापमा सहभागी हुनेहरुले गम्भीरता अपनाउन भने अपरिहार्य देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies