प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अगाडि एक कार्यक्रममा दिएको अभिव्यक्ति चर्चामा छ । प्रधानमन्त्री ओलीले आफू अध्यक्ष रहेको नेकपा एमालेको पर्यटन विभागले गरेको कार्यक्रममा भगवान शिव हलेसीतिरका चाम्लीङ हुन सक्ने बताएका थिए । हलेसीमा चाम्लीङ समुदाय बस्ने भएकाले भगवान शिवबारे प्रधानमन्त्री ओलीले त्यस्तो अड्कल गरेका थिए । सँगै भगवान राम चितवनको ठोरीमै जन्मिएको बताएका थिए । हिन्दू धर्म ग्रन्थ रामायणमा वर्णित रामबारे ओलीले यस्तो बताउन थालेको धेरै वर्ष भइसक्यो । उनले सरकारकै लगानीमा राम मन्दिर स्थापनामा लगानी पनि गरेका छन् । यस्तो अभिव्यक्तिका कारणले प्रधानमन्त्री ओली निरन्तर विवादमा छन् । छिमेकी भारतलाई प्रधानमन्त्रीको यही अभिव्यक्तिका कारणले प्रष्टोक्ति समेत दिनु परेको थियो । तर ओलीले राम ठोरीमा जन्मिएको बताउन छाडेका छैनन् ।
केही महिना अगाडि कोशी प्रदेश सभालाई सम्बोधन गर्दै ओलीले भगवान शिव हलेसीमा जन्मिएको तर्क गरेका थिए । हलेसीमा शिव जन्मिएकै कारणले महादेवस्थान मन्दिर रहेको तर्क गरेका थिए । आफ्नो यो दावीलाई थप बलियो बनाउनेगरी ओलीले शिव हलेसीतिरका चाम्लीङ भएको अनुमान गरे । अरू थुप्रै धार्मिक पात्रहरूको जन्म नेपालमा भएको प्रधानमन्त्री ओलीले दावी गरेका छन् । प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिलाई आमसाधरणले रमाइलोका रुपमा लिएको देखिन्छ । कसैले पनि गम्भीरताका साथ लिएको पाइदैन । यो ठूलो विडम्बना हो । देशका प्रधानमन्त्रीको अभिव्यक्ति हाँसोको विषय अथवा रमाइलो किस्सा बन्दै जानु राम्रो होइन ।
प्रधानमन्त्रीको अभिव्यक्ति अर्थपूर्ण हुनुपर्ने हो । नागरिकले भरोसा र विश्वास गर्नुपर्ने हो । तर देशको कार्यकारी प्रमुख जस्तो व्यक्तिको अभिव्यक्तिलाई कुनै हास्य कलाकारलाई जति पनि मूल्य नदिइनु चानचुने समस्या होइन । प्रधानमन्त्री बोल्छन्, र त्यसलाई आमसाधरणले मजाक मान्छन्, यो सामान्य विषय होइन । र प्रधानमन्त्री ओली यसरी हाँसोको पात्र बन्नुमा उनकै भूमिका जिम्मेवार छ । धार्मिक विषयलाई मजाक मान्ने, कुनै धार्मिक गुरु जसरी व्याख्या गर्ने र अनावश्यक दावी गर्ने कार्यमा प्रधानमन्त्री ओली अग्रसर हुँदै आए । अरु राजनीतिक विषयलाई पनि ओलीले कहिल्यै गम्भीरताका साथ लिएनन् । त्यसैले अहिले धार्मिक सम्वेदना जस्तो विषयमा जथाभावी बोल्दा पनि आम साधरणले मजाकको विषय माने । गम्भीर रुपमा लिएनन् । यसलाई प्रधानमन्त्री ओली र उनको टीमले अध्ययनको विषय बनाउन जरुरी छ ।