२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

अनलाइनको बाढी र प्रिन्ट मिडिया

shivam cement
२०८२ असार ३० गते ०६:०५
अनलाइनको बाढी र प्रिन्ट मिडिया

–शंकरमान सिंह

समाचार पत्रहरू कागज जस्तै हराउँदै छन्, तैपनि सञ्चार माध्यम जीवित छ र बढ्दै छ । पत्रकारिता छ, तर रूपहरू फेरिँदै छ । ३० अप्रिल २०२४ छापा माध्यमका पाठकहरूका लागि दुःखद दिन थियो । त्यो एक युगको अन्त्य थियो, अप्रिल ३०, २०२४ सम्म, रिडर्स डाइजेस्ट युकेले ८६ वर्षपछि आफ्नो छापा संस्करण प्रकाशन बन्द गर्ने निर्णय गरेको थियो । पत्रिकाकी प्रमुख सम्पादक इभा म्याकेभिकले लिंक्डइनमा घोषणा गरेकी थिइन्, कम्पनी पत्रिका प्रकाशन आर्थिक दबाब सहन असमर्थ छ । मे २०२४ को अंक प्रकाशित हुने अन्तिम महिना थियो । 

नेपालमा वि.सं. १९५८ वैशाख २४ देखि साप्ताहिक संस्करण हुँदै सुरु भएको गोरखापत्र २०१७ फागुन ७ देखि दैनिक संस्करणमा प्रकाशित हुन थालेको थियो । जुन संस्थानको अधिकृत पुँजी पनि करिब रुपैयाँ ३ करोड, जारी पुजी २.५ करोड र चुक्ता पुँजी १.१५ करोड रहेको देखिन्छ । गत आवमा मात्रै गोरखापत्रले करिब १९ करोडको नाफा आर्जन गरेछ । गोरखापत्रको हकमा खास समस्या नभए पनि राजस्व भने क्रमशः घट्दो क्रममा भएकोमा कुनै शंका छैन ।

गोरखापत्र अब्बल स्वरूपमै भइरहँदा धेरै जस्तो साप्ताहिक पत्रिकाहरू बन्द भइसकेका छन् भने दैनिक पनि जेनतेन चलाई रहेको अनुभूति हुन्छ । वास्तविकता के हो भन्ने कुरा यो खोजको विषय हुन सक्छ । विशेषगरी डिजिटल प्रविधि र इन्टरनेटले सञ्चारको क्षेत्रमा आमूल परिवर्तन ल्याएको छ र जसको प्रभाव सबैभन्दा बढी छापा माध्यममा परेको छ । 

यसले छापा माध्यमको व्यावसायिकतामा ठूलो समस्या ल्याएको छ, जसको बाध्यताका बिच यी प्रकाशनहरू अनलाइन संस्करणमा फेरिँदै छन् । यसको अर्थ प्रकाशकहरूको लागि लागतमा कम र पाठकहरूको व्यापकता हो । भनिन्छ छ कि मानिसहरूले अनलाइन र सामाजिक सञ्जालमार्फत राम्रो र मुख्यतयाः नराम्रो दुवै रूपमा निःशुल्क जानकारी प्राप्त गरिरहेका छन् र यसलाई निःशुल्क प्राप्त गर्न सकिने अवस्था पनि छ । यसले पत्रकार र सञ्चार क्षेत्रलाई ढिलो चाँडो विकल्पतर्फ प्रेरित गरिरहेको छ । यो पनि सत्य हो कि लगभग हरेक अखबारले स्रोतको लागि प्रतिस्पर्धाको निकै सामना गर्नुपर्छ । केवल अन्य अखबारहरूबाट मात्र होइन, विभिन्न प्रकारका अनलाइन मिडियाहरूबाट पनि ।

यद्यपि, अखबारले जति राम्रो गर्छ, यसको पाठक संख्या पनि त्यति नै बढी हुन्छ । अखबारमा प्रशिक्षित रिपोर्टरहरू छन् । जहाँ तथ्यको खोजी बढी हुन्छ । जसका समाचारहरू सतही हुँदैनन् । जसलाई सबैले विश्वसनीय रूपमा हेर्छन् । 

विश्वको पहिलो पत्रिका सन् १६०९ मा फ्रान्सबाट जर्मन भाषामा प्रकाशन भएको थियो । त्यसपछि जर्मन, अमेरिका, बेलायत लगायतका देशमा पत्रिका प्रकाशन भएका हुन् । अठारौँ शताब्दीसम्म आइपुग्दा युरोप र अमेरिकामा धेरै पत्रपत्रिका प्रकाशन भए । उन्नाइसौँ र बिसौँ शताब्दीमा पत्रपत्रिका सूचना, शिक्षा र चेतनाको प्रमुख माध्यम मात्र बनेन, पत्रपत्रिकाको ४ सय वर्षको इतिहासमा २ सय वर्ष निर्विकल्प बन्यो । रेडियोको आविष्कार नहुन्जेलसम्म पत्रपत्रिका प्रतिस्पर्धी विहीन थिए ।

पत्रपत्रिकाको भविष्य

सूचना र मनोरञ्जन उद्योगमा सामाजिक सञ्जालको प्रभाव निकै ठूलो छ । उद्योगभित्र र बाहिरका केही मानिसहरूलाई डर छ कि नयाँ मिडिया र अनलाइन पत्रकारिताको आगमनसँगै पत्रपत्रिकाहरू मर्नेछन् । हुन पनि केही पत्रपत्रिकाहरू बन्द भएका छन् र पत्रकार तथा अन्य कर्मचारीहरूलाई कामबाट निकालिएको छ । पत्रपत्रिकाहरू बन्द हुने डरको बिचमा केही पत्रपत्रिकाहरूले पाठकहरू र विज्ञापनदाताहरूलाई चासो राख्ने नयाँ सम्पादकीय विधिहरू प्रयोग गरेर उद्योगमा भएका परिवर्तनहरूलाई द्रुतरूपमा अनुकूलन गरिरहेका छन् ।
यदि छापा माध्यमले नयाँ परिवर्तनको अपेक्षालाई पूरा गर्छ र परम्परागत पत्रकारिताको स्थापित मूल्यहरूसँगै नयाँ मिडिया प्रविधिहरूको माग पनि समेटिन्छ भने त्यस अवस्थामा छापा माध्यम समस्यामा पर्दैनन् ।

ठूलो संख्यामा मानिसहरू उठ्दा आफ्नो मोबाइल फोन जाँच गर्छन् । मोबाइल फोनमा निर्भरता यति हदसम्म छ कि इन्टरनेट चलाउन नपाउँदा धेरै व्यक्तिमा हैरानी महसुस हुन्छ । केही मानिसहरूको लागि बिहान अखबार नहेरी नहुने हुन्छ । तर, अनलाइन अखबार सदस्यताले अखबार पढ्नुको साथै, अखबार पढ्ने उनीहरूको चाहना पूरा गर्दछ । जसलाई समेट्नु छापा माध्यमको लागि अहिलेको सबैभन्दा ठूलो चुनौती हो ।

नीति चाहिन्छ

नेपाल जस्तो मुलुकमा आमसञ्चारका माध्यम सञ्चालन हुने मुख्य स्रोत विज्ञापन हो । पत्रिका बिक्रीभन्दा विज्ञापनबाट चल्छ, तर विज्ञापनको ठूलो हिस्सा सोझै सामाजिक सञ्जालमा जान थाल्नु खतराको घण्टी हो । उच्च पदमा बसेका नेता, कर्मचारीदेखि सर्वसाधारणले फेसबुकमा पाँच हजारलाई सोझै मित्र बनाउन सक्छन् । ट्विटरमा लाखौँ फलोअर हुन सक्छन् । उच्च तहमा बसेका व्यक्तिले प्रवाह गर्ने सामग्री समाचारका स्रोत भएका छन् । यसले के देखाउँछ भने एउटा शक्तिशाली अखबारभन्दा धेरै फलोअर भएका व्यक्तिको ट्विट शक्तिशाली हुन सक्छ । 

नेपाली सञ्चार माध्यमको मुख्य स्रोतका रूपमा उत्पादनमूलक उद्योग तथा सेवामूलक उद्योग रहेका छन् । तर, राज्यका नीतिले कतिपय उद्योगलाई विज्ञापनमै प्रतिबन्ध लगाएको छ । सबैभन्दा नाफाका उद्योगका रूपमा परिचित रक्सी, चुरोट उद्योगले विज्ञापन प्रकाशन गर्न पाउँदैनन् ।  २०७९ फागुन ११ गते न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मादक पदार्थको विज्ञापन सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण गर्न नदिने आदेश गरेको थियो । 

सार्वजनिक खरिद ऐन–२०६३ र सार्वजनिक खरिद नियमावली (नवौँ संशोधन) २०७९ ले दिएको अधिकार प्रयोग गर्दै सरकारी कार्यालयले सार्वजनिक खरिदको काम गर्दै आएका छन् । सार्वजनिक सेवा, खरिद तथा निर्माणका लागि बोलपत्र, दरभाउ पत्र, सिलबन्दी आह्वान, प्रस्तावना, आसय पत्रका सूचना प्रकाशन हुँदै आएका छन् । यो ऐनमै भएको व्यवस्था भएकाले ३५ दिने, २१ दिने, १५ दिने र ७ दिने सार्वजनिक सूचना अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय पत्रपत्रिकामा सूचना प्रकाशन हुँदै आएका छन् । यसले केही हदसम्म नेपाली छापा माध्यमको मिडिया उद्योगलाई केही सहयोग पु¥याएको होला भन्न सकिन्छ । 

छापाको विज्ञापन र बिक्री घटेपछि पत्रकारिता डिजिटल मिडियातर्फ उन्मुख भयो । फलतः डिजिटल न्युज पोर्टलको संख्या उकालो लाग्यो । पछिल्लो दशकमा डिजिटल मिडियाको संख्या निकै बढ्यो । डिजिटल मिडिया पनि विज्ञापनकै भरमा चलिरहेको छ । सब्सक्रिप्सन मोडल नेपालमा खास प्रयोगमा आएका छैनन् । जसले ‘पे वाल’को प्रयास गरे, त्यो पनि सफल भएको देखिन्न । जबसम्म न्युयोर्क टाइम्सको जस्तो पाठकबाट आम्दानी आउँदैन अर्थात् रिडरबेस रेभिन्युबाट न्युज पोर्टल चल्दैनन्, त्यो बेलासम्म मिडिया चलाउन कठिन हुने यथार्थ छ । यो छापामात्रै होइन अनलाइनको सन्दर्भमा पनि लागु हुन्छ । 

ADV

सम्बन्धित खबर

Advertise