
बुटवल : नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार बुटवलमा भएको विरोध कार्यक्रममा अचानक निधन भएको छ ।
रुपन्देहीमा विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेको कारण उद्योगहरूको बिजुली लाइन काटेको विरोधमा आयोजना गरिएको प्रदर्शनका क्रममा उनले ज्यान गुमाएका हुन् ।
कार्यक्रममा श्रमिकको हकहितका विषयमा सम्बोधन गरिरहेका बेला गौतम एक्कासी बेहोस भएर ढलेका थिए । सहकर्मीहरूले तत्कालै उनलाई मणिग्रामस्थित क्रिम्सन अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सिद्धार्थ उद्योग वाणिज्य संघको अगुवाइमा भएको सो प्रदर्शनमा उद्योगी, व्यवसायी, मजदुर तथा विभिन्न संघ–संस्थाका प्रतिनिधि सहभागी थिए । संघका अध्यक्ष नेत्रप्रसाद आचार्यका अनुसार गौतमले अन्तिम सम्बोधनका क्रममा श्रमिक र उद्योगीको पक्षमा बोल्दै गर्दा आवाज कमजोर हुँदै गएपछि ढलेका थिए ।
बुटवल उपमहानगरपालिका–४ निवासी गौतम लामो समयदेखि श्रमिक अधिकारका पक्षमा क्रियाशील थिए ।