२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

सूचना प्रविधिमा संवेदनशीलता

shivam cement
२०८२ असार ३१ गते ०६:००
सूचना प्रविधिमा संवेदनशीलता

–अपूर्व नेपाल

सूचना प्रविधिको तीव्र विकासले मानव जीवनका हरेक पाटोलाई गहिरोसँग प्रभावित पारेको छ । सञ्चार, शिक्षा, प्रशासन, व्यापार, बैंकिङ, सुरक्षादेखि लिएर व्यक्तिगत जीवनका व्यवहारसम्म सूचना प्रविधिबिना सम्भव नहुने अवस्थामा पुगेका छन् । यस्तो अवस्थामा सूचना प्रविधिमा देखिएको संवेदनशीलता गम्भीर चिन्ताको विषय बनेको छ । सूचनाको सुरक्षाबाट लिएर निजताको हनन, साइबर आक्रमण, झुटा समाचार तथा प्रविधिमार्फत हुने सामाजिक विभाजनसम्मका विषयहरू सूचना प्रविधिसँग प्रत्यक्ष जोडिएका छन् । प्रविधिले अनेक सुविधा दिएको भए पनि यसका सन्दर्भमा देखिने संवेदनशीलता नसम्झिँदा ठूलो सामाजिक, आर्थिक र राजनीतिक क्षति हुने सम्भावना छ ।

आजको युगमा डाटा नै सबैभन्दा मूल्यवान सम्पत्ति हो भन्ने भनाइ स्थापित हुँदै गएको छ । राज्य, संस्था वा व्यक्ति जुनसुकै तहको होस्, प्रविधिबाट सञ्चालित प्रणालीमा डाटाको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । यस्ता डाटा लिक हुनु, चोरी हुनु वा दुरुपयोग हुनु सूचना प्रविधिको संवेदनशील पक्ष हो । विभिन्न एप, वेबसाइट वा सफ्टवेयरहरू प्रयोग गर्दा हामीले आफ्ना व्यक्तिगत विवरणहरू जानी–नजानी उपलब्ध गराउँछौँ, जुन सधैँ सुरक्षित रहन्छ भन्ने ग्यारेन्टी हुँदैन । अझ सरकारका महत्वपूर्ण निकायहरूबाटै नागरिकको व्यक्तिगत विवरण बाहिरिएको खबर बारम्बार सार्वजनिक भइरहँदा यसको गम्भीरतालाई महसुस नगरी बस्न मिल्दैन ।

नेपालजस्तो विकासोन्मुख मुलुकका लागि सूचना प्रविधिको उपयोग अवसरका रूपमा आएको छ, तर सुरक्षासँग सम्बन्धित चेतना र संरचना कमजोर भएकाले जोखिम पनि बढिरहेको छ । सरकारी तथा निजी कार्यालयहरूमा प्रयुक्त सफ्टवेयर, डाटाबेस प्रणाली वा अनलाइन सेवाहरूको सुरक्षामा पर्याप्त ध्यान नदिइएको देखिन्छ । कमजोर पासवर्ड, अपडेट नगरेका प्रणाली, असुरक्षित सर्भर वा अनधिकृत पहुँचजस्ता कमजोरीका कारण राज्यका महत्वपूर्ण सूचना सजिलै लिक हुने अवस्था सिर्जना भइरहेको छ । त्यस्ता सूचनाको दुरुपयोगबाट न त व्यक्ति सुरक्षित रहन्छ, न राज्य नै ।

साइबर आक्रमणको खतरा पनि बढ्दो छ । व्यक्तिगत ह्याकिङ, वेबसाइट डाउन पार्ने डिडोस आक्रमण, फिसिङ इमेलमार्फत ठगी, क्रिप्टो मालवेयर आक्रमण आदि नेपालमा पनि बारम्बार देखिन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको प्रणाली नै बन्द हुने, ग्राहकको रकम हराउने, नक्कली एपमार्फत ठगिनेजस्ता घटना अब सामान्य बन्दै गएका छन् । यस्ता घटना सूचना प्रविधिमा सतर्कता र संवेदनशीलता आवश्यक रहेको संकेत हुन् । तर, सरकारले साइबर सुरक्षालाई अझै प्राथमिकतामा राखेको देखिँदैन । राष्ट्रिय साइबर सुरक्षा नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयन देखिँदैन । न त प्रविधि प्रयोगकर्तामा पर्याप्त चेतना छ, न त कानुनी संरचना नै दुरुस्त छ ।

सूचना प्रविधिमा संवेदनशीलताका कारण सिर्जत हुने अर्को समस्या सामाजिक सञ्जालको गलत प्रयोग हो । फेसबुक, युट्युब, टिकटक, एक्सजस्ता माध्यमले अभिव्यक्तिको स्वतन्त्रता बढाएका छन्, तर यही स्वतन्त्रताको नाममा झुटा सूचना फैलिने, व्यक्तिगत चरित्रहत्या हुने, सामाजिक द्वेष बढ्ने, अफवाह फैलिने र समाजमा अराजकता निम्तिने अवस्था बनेको छ । 

निजताको हक प्रविधिको विकाससँगै चुनौतीमा परेको अर्को संवेदनशील पक्ष हो । मोबाइल एप, स्मार्ट टिभी, ब्राउजर वा सर्च इन्जिनहरूले प्रयोगकर्ताको रुचि, लोकेसन, बानी–व्यवहारसम्बन्धी डाटा संकलन गर्छन्, जुन डाटा विज्ञापनदातालाई बेचिन्छ वा विश्लेषण गरिन्छ । यस्ता प्रक्रिया पारदर्शी नहुँदा प्रयोगकर्ताको अधिकार हनन हुन्छ । अझ कतिपय एपले अनावश्यक अनुमति मागेर प्रयोगकर्ताको फोटो, कन्ट्याक्ट, मेसेज र लोकेसनजस्ता निजी डाटामाथि नियन्त्रण जमाउने गर्छन् । यो प्रवृत्तिले डिजिटल उपनिवेशको खतरा पनि बोकेको छ ।

सूचना प्रविधिको संवेदनशीलताका कारण शिक्षा क्षेत्रमा समेत चुनौती देखिन थालेको छ । कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी निबन्ध, प्रोजेक्ट वा अनुसन्धान तयार पार्ने प्रवृत्तिले विद्यार्थीको मौलिकता मर्न थालेको छ । कपी–पेस्ट संस्कृतिले शिक्षाको गुणस्तरमा प्रश्न उठाउन थालेको छ । 

यसैगरी, सूचना प्रविधिको संवेदनशीलता श्रम बजार, कानुनी प्रणाली, प्रशासनिक कामकाज र राजनीतिक सञ्जालमा समेत प्रत्यक्ष प्रभाव पारिरहेको छ । प्रविधिको सहयोगमा निर्वाचन, जनगणना, राहदानी, नागरिकता वितरणजस्ता काम सहज भए पनि यिनको सुरक्षामाथि प्रश्न उठिरहेका छन् । कुनै पनि प्रणालीमा देखिएको त्रुटि वा कमजोरीले व्यापक असर पार्न सक्छ । सूचनाको गोपनीयता, अखण्डता र उपलब्धता सुनिश्चित नगरी प्रविधिमाथि निर्भर हुनु घातक हुन सक्छ ।

नेपालले सूचना प्रविधिमा देखिने संवेदनशीलतालाई गम्भीरतापूर्वक लिनु जरुरी छ । प्रविधिमा आधारित शासन प्रणाली विकास गर्दै गर्दा सुरक्षालाई उपेक्षा गर्नु आत्मघाती हुन्छ । साइबर सुरक्षा रणनीति मात्र बनाएर पुग्दैन, त्यसलाई सशक्त कार्यान्वयन गर्न सक्ने दक्ष जनशक्ति, प्रविधिगत पूर्वाधार र कानुनी संयन्त्र आवश्यक पर्छ । नागरिकमा चेतना बढाउने, विद्यालयदेखि विश्वविद्यालयसम्म डिजिटल नागरिकता र सूचना सुरक्षा पढाउने, सरकारी र निजी संस्थामा सूचना प्रविधि सुरक्षाका मापदण्ड लागू गर्ने जस्ता पहल आवश्यक छन् । सूचना प्रविधि हाम्रा लागि अवसर हो, तर यो अवसरलाई संकटमा नपरुन् भनेर संवेदनशीलता बुझ्ने र त्यसअनुसार नीति, संरचना र आचरण तयार गर्नु आजको आवश्यकता हो ।

(लेखक नेपाल, साइवर विज्ञ हुन् ।)

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise