काठमाडौं : झट्ट हेर्दा हसिलो मुहार, गोरो वर्ण, अग्लो कद अनि सुकिलो–मुकिलो पहिरन । सबैसँग मिजासिलो बोली बोल्ने, अरुको भनाइ धैर्यपूर्वक सुन्ने यी पात्रलाई कार्यस्थल बाहिर भेट्दा नजिकबाट नचिन्नेहरूले कुनै विदेशी शोधकर्ता हो कि भन्ने ठान्छन् । तर त्यो अनुमान पूरापूर गलत हुन्छ । उनका लागि मिनेट/मिनेट समयको महत्व छ । जमघट गर्ने व्यक्ति पनि विशेष नै हुन्छन् । धेरैको रोजाइको ‘सेलिब्रेटी’ मा पर्छन् उनी । जहाँ कला–मनोरञ्जनको चर्चा हुन्छ त्यहाँ स्वतः उनको नाम जोडिन्छ । अझ काँचको पर्दामा आँखा डुलाइरहने त मार्गदर्शन नै ठान्छन् । नेपाली कलाकर्मी हुनुको गर्व, समाज–राष्ट्रप्रतिको इज्जत साबित गरेका छन् उनले । यसैको परिणाम त आफ्नो गन्तव्यतर्फको पाइलालाई अझै अघि बढाउँदै थप प्रगतिपथमा लम्कँदै छन् । विश्वको शक्तिशाली राष्ट्र अमेरिकामा जम्दै गरेका नेपाली कलाकार जयन्द्र चिलुवालको कहानी हो यो ।
जयन्द्रको जन्म कञ्चनपुर जिल्लाको हालको भीमदत्त नगरपालिका–४ मा पद्यराज चिलुवाल र इश्वरीदेवीका २ छोरा तथा १ छोरीमध्ये अन्तिम सन्तानको रूपमा भएको हो । मध्यमवर्गीय जयन्द्रको बाल्यकाल साथीसंगीको तुलानामा पृथक रह्यो । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सानैबाट तीक्ष्ण बुद्धि, अध्ययनमा अब्बल र सिर्जनशील कलाका धनी उनलाई त्यस्तै ३/४ वर्षको उमेरमा स्थानीय श्री राष्ट्रिय बाल विद्यालयमा भर्ना गरियो । विक्रम सम्वत् २०६० मा राम्रो अंक ल्याएर उनले त्यहीँबाट एसएलसी पास गरे ।
त्यसपछि भने जयन्द्र महेन्द्रनगरकै रेडियन्ट हाइयर सेकेन्डरी स्कुल जान थाले । त्यहाँबाट ‘बायोलोजी’ विधामा विज्ञानमा कक्षा १२ पास गरे । प्रसंग २०६३ को हो– जयन्द्रको दैनिकीमा अब केही परिवर्तन आयो । मेडिकलमा स्नातक गर्न उनी काठमाडौं भित्रिए र गैह्रीधारास्थित शान इन्टरनेशनल कलेजमा भर्ना भए । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको शानबाट उनले ‘बायोटेक्नोलोजी’मा अध्ययन पूरा गरे । दुईवर्षे स्नाकोत्तरतहका लागि भने पूर्ण छात्रबृत्तिमा २०७० मा अमेरिकाको ‘युर्निभरसिटी अफ साउथ डकोटा’ पुगे । अध्ययन पार पनि गरे ।
रोचक पक्ष त के भने जयन्द्रको सानैदेखिको चाहना भने यो वा त्यो विषय पढ्ने भन्दा पनि कलाकारिता गर्ने र चर्चित कलाकार बन्ने हो । यद्यपि अभिभावकहरूको जोडबलका अगाडि उनी जवरजस्ती खुल्न सकेनन । ‘म सानैदेखि रसिक स्वभावको थिएँ । सरहरूको क्यारिकेचर पनि गर्थें । पहिलेबाटै एफएम, टिभीमा बजेका गीत सुनेर गुन्गुनाउँथें, कतिपय गायक–गायिकाले गाएको गीत त हुबहु मिलाएर गाउँथें पनि । यतिमात्रै होइन– विद्यालयमा हरेक शुक्रवार आयोजना गरिने अतिरिक्त क्रियाकलापमध्ये गायन र अभिनयमा भाग लिन्थें अनि जित पनि हासिल गर्दथें । जयन्द्र विगत स्मरण गर्छन्– ‘त्यो बेलादेखिको कलाकारिताप्रतिको मोहले मलाई जहाँ पुगे पनि छोडेन । शान कलेजमा अध्ययन गर्दा दोस्रो वर्षमा आयोजित प्रतिष्पर्धात्मक ‘फेसन सो’, ‘ट्यालेन्ट सो’मा पनि प्रथम नै भएको हुँ, अहिले अमेरिकामा त झनै गहिरिएर लागेको छु ।’
यस्तयस्तैमा आफ्नो अध्ययन अगाडि बढाउदै गर्दा २०७२ को वैशाख–जेठको छुट्टीमा जयन्द्रले ‘डबस्म्यास एप’ मा हिन्दी फिल्मको एउटा ‘डायलग’माथि ‘सिन रेकर्ड’ गरे । त्यसलाई नजिकका साथीहरूले निकै रुचाए । त्यसपछि अंग्रेजीमा पनि गर्न थाले । ती पनि विदेशी साथीहरूको मूल्यांकनमा त्यो निकै स्तरीय ठहरियो । अनि उनलाई लाग्यो– म नेपालमा मात्रै गाउन, अभिनय गर्न सक्नु भनेको त यहाँ पनि धेरैले मन पराउने रहेछन् । उनमा हौसला थपियो । अनि नेपालमा समेत गायन, अभिनयको अनौपचारिक प्रशिक्षण लिइसकेका जयन्द्र अमेरिकामा पनि कलाकारितामा जम्न कस्सिए । त्यसपछि अध्ययनसँगै कलाकारितामा माझिन ‘विलियम एस्पर स्टुडियो’ इन्स्टिच्युट/कलेज भर्ना भए । त्यहाँको तीनवर्षे कोर्स पूरा गरेर व्यवसायिक रुपमै कलाकारितामा समर्पित भए । त्यस अन्तरालमा स्थानीय, क्षेत्रीय स्तरमा राम्रो प्रभाव पर्ने अमरिकी ‘प्रोडक्सन’को ‘ग्रुप’मा रहेर आफ्नो कला–क्षमता प्रदर्शन गरे । राम्रो सफलता पनि हाता पारे । त्यसले उनको उचाई ह्वात्तै बढायो ।
जयन्द्रले २०७७ मा ठूलो पर्दाको नेपाली–अमेरिकी चलचित्र ‘लाइफ इन एल ए’ मा अभिनय गरे । हिरोको साथीको भूमिकामा देखिएका उनले त्यसबाट निकै ‘हाइहाइ’ कमाए । चलचित्रले पनि नेपालदेखि अमेरिकाको उल्लेख्य क्षेत्रमा चर्चा–परिचर्चा पायो । ‘म पूर्ण कलाकार बन्न डकोटाबाट न्युयोर्क सिटी आउनुको सार्थकता भयो । वास्तविक कलाकारिताको स्वाद बल्ल पाएँ,’ उनी गर्व गर्छन्, ‘यो भनेको नाटक, चलचित्र सिक्ने, सिकाउने र प्रयोगमा ल्याउने संसारकै सवैभन्दा ख्यातिप्राप्त सहर हो । मैले पनि यहीँबाट विश्व चकित गराउनु छ, आफ्नो र देशको नाम राख्नु छ ।’
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘प्रश्नोत्तर’ कविताको ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने हरफजस्तै छ जयन्द्रको सोच पनि । अहिले उनको लक्ष्यसमेत आंशिक रूपमा पूरा भएको छ । भगवान्ले पनि भन्छन् रे– ‘तँ आँट् म पुर्याउँछु ।’ हो, यस्तै भयो उनको सवालमा । फेरि मानिसले सोख र चाहना कहिल्यै मार्नुहुँदैन । आफूले इच्छाएको काम गर्दा सन्तुष्टि मिल्नेमात्रै होइन– छिट्टै सफलता पनि प्राप्त हुन्छ । जयन्द्रको हकमा यही लागू भयो । नेपालका कलाकार नेपालमा नै टिक्न हम्मे परिरहेका बेला एउटा काँचो युवक अमेरिकामा पुगेर स्थापित हुनु त्यति सहज र मामुली भने होइन । ‘तर दृढ संकल्प अनि लक्ष्यका अघि चुनौतीका जस्तासुकै पहाड पनि सामान्य बन्दा रहेछन्,’ जयन्द्रको अनुभव छ ।
उनी भन्छन्, ‘कोही मानिस बाँचेर मरिरहेका हुन्छन् त कोही मरेर पनि बाँचिरहन्छन् । मृत्यु त्यो हो– जसको शरीर छुट्नासाथ संसारमा अरू केही बाँकी रहँदैन । अनि जो धेरैको सम्झनामा जीवित रहने छाप छोडेर शारीरिक रूपमा बिदा हुन्छ त्यो उसको मरण होइन– बरु अमरता हो । र त मानिस भएर जन्मिएपछि समाजमा केही न केही राम्रो काम गर्नुपर्छ, आफ्नो कार्यलाई जीवन्त राख्न सक्नुपर्छ’ आफूले कलाकारिता पेशा अँगाल्नुको कारणबारे जयन्द्र प्रष्ट्याउँछन्– ‘जीवन संयोग हो र मृत्यु शाश्वत हुन्छ । अस्थायी रूपमा आर्जित पद तथा सम्मानभन्दा सिर्जना–इतिहास महत्वपूर्ण हुन्छ ।’ हाल जयन्द्र प्रायः हलिउडकै ‘टिभी फिल्म’, ‘बर्ड वे’ अन्तर्गतका नाटक र अन्य विभिन्न ‘प्रोजेक्ट’द्वारा निर्मित ‘सो’हरूमा प्रमुख तथा विशेष पात्रको भूमिकामा व्यस्त छन् । र त उनी उल्लेख्य मात्रामा सम्मान, पुरस्कार तथा अवार्डबाट समेत विभूषित भइरहेका छन् ।