काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले दावी गरेको छ । भारतीय सञ्चार माध्यम न्यूज नाइनले एक्सक्लुसिभ समाचार भन्दै प्रशिक्षक ह्वाटमोरले राजिनामा दिने दावी गरेको छ ।
अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षकले राजिनामा दिएको पुष्टि गरेका छन् । उनका एजेन्टबाट शुक्रबार इमेल प्राप्त भएको बताए । ओमान टुर पछि घरायसी कारण देखाउँदै नेपाली टिमसँग आवद्ध नहुने आशय पहिला पनि व्यक्त गरेको बताउँदै आफूले फेरि एक पटक प्रशिक्षकसँग कुरा गर्ने पनि अध्यक्ष चन्दले जानकारी दिए ।
गत डिसेम्बरमा एक वर्षका लागि प्रशिक्षक ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पपुवा न्युगिनी विरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग –२ को खेलका लागि ओमानमा छ ।
मंगलबार काठमाडौंबाट प्रस्थान गरेको टोलीले विहीबार देखि ओमानमा प्रशिक्षण पनि शुरु गरिसकेको छ । ह्वाटमोरले पछिल्लो समय परिवारबाट टाढा बस्नुपर्दा केहि समस्या रहेको बताउने गरेका थिए ।
प्रशिक्षकको राजीनामाले ओमान भ्रमणलाई असर नगर्ने बताइएको छ ।
ह्वाटमोरले नेपाली टिम सम्हाले पछि पहिलो पटक राष्ट्रिय टिमले विदेशी भूमिमा सिरिज खेल्दै छ । यसअघि वैशाखमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० सिरिज खेल्दा नेपाली टिम च्याम्पियन बनेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies