तनहुँ : जिल्लामा एक वर्षमा पाँच सय ९६ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा उद्योगतर्फ तीन सय आठ र वाणिज्यतर्फ दुई सय ८८ दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय दमौलीले जनाएको छ ।
उद्योग तथा वाणिज्य दर्ता गत आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा कम भएको कार्यालय प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिए । आव २०८०/८१ मा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ गरी सात सय ७१ उद्योग दर्ता भएका थिए । आव २०८१/८२ मा एक हजार नौ सय छ उद्योग नवीकरण भएका छन् भने वाणिज्यतर्फ एक हजार सात सय ३५ उद्योग नवीकरण भएको सुवेदीले बताए ।
उनका अनुसार उद्योगतर्फ साउनमा ३३, भदौमा ३९, असोजमा ३२, कात्तिकमा २५, मङ्सिरमा ३१, पुसमा २४, माघमा १५, फागुनमा २४, चैतमा २०, वैशाखमा २९, जेठमा २५ र असारमा ११ उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ साउनमा ५३, भदौमा २१, असोजमा २४, कात्तिकमा २०, मङ्सिरमा २३, पुसमा २५, माघमा १९, फागुनमा २३, चैतमा २२, वैशाखमा २१, जेठमा २२ र असारमा १५ दर्ता भएका छन् ।
कार्यालयले एक वर्षमा रु ८४ लाख ८१ हजार ४२५ राजस्व संकलन गरेको छ । उद्योग दर्ता, नवीकरण, संशोधनलगायतबाट कार्यालयमा राजस्व संकलन हुने गरेको सुवेदीको भनाइ छ । साउनमा रु १३ लाख ७४ हजार ४५०, भदौमा रु आठ लाख ६८ हजार ५००, असोजमा रु नौ लाख पाँच हजार १००, कात्तिकमा रु चार लाख ३५ हजार ९००, मङ्सिरमा रु छ लाख ४५ हजार ४००, पुसमा रु सात लाख २४ हजार ४७५, माघमा रु चार लाख ८७ हजार ४५०, फागुनमा रु छ लाख ५६ हजार ६५०, चैतमा पाँच लाख २२ हजार २५०, वैशाखमा रु चार लाख ४२ हजार ५०, जेठमा रु चार लाख ९० हजार ९०० र असारमा रु नौ लाख २८ हजार ३०० राजस्व संकलन भएको छ ।