पेनाङ, मलेसिया : नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङले आफ्नो ९औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम यही अक्टोबर १९ तारिख आइतबार हुने भएको छ ।
कार्यक्रमलाई सफल र गरिमामय बनाउन संघले मलेसियाभर रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक निमन्त्रणासहित विशेष उपस्थितिका लागि अनुरोध गरेको छ । संघका अध्यक्ष विरस पुन मगरले सबै सदस्य, शुभचिन्तक र साथीभाइलाई कार्यक्रममा सहभागी भई यसलाई सफल पारिदिन आग्रह गरेका छन् ।
अधिवेशन तथा सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष ज्ञान बहादुर थापा मगर रहने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै, नेपालबाट विशेष प्रस्तुतीका लागि चर्चित गायिका उर्मिला पुलामी मगर र चर्चित मोडेल विजय पुन पनि उपस्थित हुनेछन् । उनीहरूले सांस्कृतिक कार्यक्रमलाई झनै आकर्षक र मनोरञ्जनात्मक बनाउन योगदान दिनेछन् ।
नेपाल मगर संघ पेनाङ क्षेत्रीय समितिका अनुसार यो कार्यक्रम केवल अधिवेशन मात्र नभई सांस्कृतिक विविधता, परम्परा र एकताको उत्सव हुनेछ। विभिन्न सांगीतिक प्रस्तुति, नृत्य, र सांस्कृतिक गतिविधिहरूमार्फत मगर समुदायको सांस्कृतिक धरोहर प्रस्तुत गरिनेछ ।
आयोजक समितिले यसलाई पेनाङमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र पहिचानको अवसरको रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गरेको छ ।