अर्घाखाँची : अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–२ का किसान तुलसीराम अधिकारीले प्रधानमन्त्री दैवी प्रकोप सहयोग कोषमा १ लाख १ सय रुपैयाँ जम्मा गरेका छन् । कृषि पेसाबाट कमाएको आम्दानी नै उक्त कोषमा अर्पण गर्दै अधिकारीले आफ्नो भावनासहित भने,‘सिंहदरबार जल्दा मेरो आस्था पनि जलेको जस्तो लाग्यो, अब सबै मिलेर जुरुक्क उठाउनुपर्छ । सबैले सकेको सहयोग गर्नुपर्छ ।’
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले अधिकारीको सहयोगलाई प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उनले कृषि आम्दानीबाट आएको रकम पुनर्निर्माणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सरकारी संरचनामा क्षति पुगेपछि पुनर्निर्माणका लागि आम नागरिकबाट भइरहेको सहयोग अभियानमा अधिकारीको योगदान प्रेरणादायी मानिएको छ ।