२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

जेनजी आन्दोलन र प्रहरी संगठन

shivam cement
२०८२ असोज १ गते ०६:००
जेनजी आन्दोलन र प्रहरी संगठन

–सुविन श्रेष्ठ

नेपालको राजनीतिक इतिहासमा आन्दोलनहरूले सधैं परिवर्तनका द्वार खोलेका छन् तर कहिलेकाहीँ ती आन्दोलनले सुरक्षाकर्मीको बलिदान र पीडालाई पनि उजागर गर्छन् । सन् २०२५ को सेप्टेम्बरमा भएको ‘जेनजी’ आन्दोलन यसकै एउटा उदाहरण हो । युवा पुस्ताको अगुवाइमा भ्रष्टाचार, असमानता र नेताहरूको विलासी जीवनशैलीविरुद्ध सुरु भएको यो आन्दोलनले देशव्यापी हिंसात्मक रूप लिँदा प्रहरीहरूले अपार पीडा भोग्नुपर्‍यो । काठमाडौं उपत्यका र अन्य जिल्लाहरूमा प्रहरी कार्यालयमा आगजनी भयो, प्रहरीहरूलाई कुटपिट गरी घाइते बनाइयो र केहीको ज्यानसमेत गयो । यस आन्दोलनले प्रहरीको भूमिकालाई चुनौती दियो तर यसैबीच प्रहरी उपरीक्षक दीपशमशेर राणाको एउटा सन्देशले आशाको किरण जगायो । यो लेखले त्यही सन्देशलाई केन्द्रमा राखेर प्रहरीको अपमान र सम्मानको यथार्थता, स्थानीय सहयोगको भूमिका र ‘जनताको सुरक्षामा प्रहरी, प्रहरीको सुरक्षामा को जाग्यो ?’जस्ता प्रश्नलाई जोड्दै विश्लेषणको प्रयास गरिएको छ ।

जेनजी आन्दोलन २३ भदौबाट सुरु भयो । जसमा युवाहरू सामाजिक सञ्जालमार्फत संगठित भएर सडकमा उत्रिए । सुरुमा शान्तिपूर्ण देखिए पनि केही घुसपैठ तत्वहरूले यसलाई हिंसात्मक बनाए । काठमाडौंको महाराजगन्ज, तीनकुने र कोटेश्वर, ललितपुरको सातदोबाटो, चापागाउँ र मंगलबजारलगायतका प्रहरी कार्यालयमा आगजनी भयो । प्रदर्शनकारीहरूले प्रहरीहरूलाई ‘नेताको गुलाम’ भन्दै आक्रमण गरे, जसमा तीन जना प्रहरीको मृत्यु भयो र दर्जनौं घाइते भए । प्रहरीहरूले अहोरात्र जनताको सुरक्षाका लागि खटिने बेला बदला लिने शैलीमा अराजक गतिविधि भयो । प्रहरी कार्यालय जलाइए, उपकरण नष्ट भए र प्रहरीहरू भाग्न बाध्य भए । यो दृश्यले प्रहरीको अपमानलाई चरमोत्कर्षमा पुर्‍यायो ।

यस्तो अवस्थामा प्रहरी उपरीक्षक दीपशमशेर राणाले सामाजिक सञ्जालमार्फत एउटा सन्देश जारी गरे, जसले आन्दोलनको तीव्रतामा पनि प्रहरीको मनोबल उच्च राख्यो । उनले लेखेका छन्, ‘कुशलतापूर्ण पछि हट्नु आफैंमा एउटा विजय हो । खरानीबाट आगो पुनः प्रज्वलित हुनेछ । हामी फेरि उठ्नेछौ, अझ शक्तिशाली, थप प्रभावकारी र नयाँ ऊर्जाका साथ । जय नेपाल । जय नेपाल प्रहरी ।’

यो उद्धरणमा गहिरो शक्ति र बुद्धिमत्ता झल्किन्छ । ‘कुशलतापूर्ण पछि हट्नु’ भन्ने वाक्यले प्रहरीको रणनीति पछि हटाइलाई विजयका रूपमा प्रस्तुत गर्दछ, जसले हिंसालाई रोक्ने बुद्धिमानी देखाउँछ । ‘खरानीबाट आगो पुनः प्रज्वलित हुनेछ’ले विनाशबाट पुनरुत्थानको आशा जगाउँछ । यो सन्देशले प्रहरीहरूलाई मात्र होइन, सम्पूर्ण राष्ट्रलाई प्रेरित गर्दछ कि कठिनाइले हार्दैन, बरु नयाँ ऊर्जासँग फर्किन्छ । राणाको यो शब्दले प्रहरीको समर्पणलाई प्रतिबिम्बित गर्दछ, जसले देशको शान्ति र सुरक्षाका लागि आफ्नो जीवन जोखिममा राख्छन् ।

नेपालमा प्रहरी सधैं प्रश्नको केन्द्रमा रहन्छन् । आन्दोलनका क्रममा उनीहरूलाई ‘दमनकारी’ भनिन्छ, तर शान्त समयमा जनताको संरक्षकको रूपमा सम्मान पाउँछन् । जेनजी आन्दोलनमा प्रहरीमाथि भएको आक्रमणले यो द्विविधालाई उजागर गर्‍यो । एकातिर, प्रदर्शनकारीहरूले प्रहरीलाई नेताहरूको ‘गुलाम’ ठानेर आक्रमण गरे, जसले प्रहरीको अपमान भयो । प्रहरीहरूले गोली चलाएर प्रदर्शनकारीहरूको मृत्यु हुनुले उनीहरूको छवि थप धमिलियो । तर यथार्थता के हो भने प्रहरीहरू जनताकै सेवक हुन्, जसले अहोरात्र ड्युटी गर्दै देशको कानुन र व्यवस्था कायम राख्छन् ।

यसै सन्दर्भमा एउटा प्रश्न उठ्छ, ‘जनताको सुरक्षामा प्रहरी, प्रहरीको सुरक्षामा को जाग्यो ?’ यो प्रश्नले आन्दोलनकारीहरूले प्रहरीमाथि जाई लाग्दा कोही बचाउन नआएको तथ्यलाई जोड्छ । आन्दोलनका क्रममा प्रहरी कार्यालय ध्वस्त हुँदा स्थानीय प्रशासन, राजनीतिक नेतृत्व वा अन्य सुरक्षा निकायबाट तत्काल सहयोग नपुगेको थियो । नेपाल सेनाको सहयोग पनि ढिलो भयो, जसले प्रहरीहरूलाई एक्लै लड्न बाध्य बनायो । यस अवस्थाले प्रहरीको सुरक्षाको प्रश्न उठाउँछ – उनीहरूले जनतालाई बचाउँदा आफ्नो सुरक्षाका लागि को जिम्मेवार छ ? यो तथ्यले प्रहरीको अपमानलाई मात्र होइन, संस्थागत कमजोरीलाई पनि उजागर गर्दछ ।

तर, अपमानको कथा मात्र होइन, सम्मानको पनि कथा छ । जेनजी आन्दोलनपछि प्रहरी कार्यालयहरू ध्वस्त भए पनि स्थानीय बासिन्दाहरूले प्रहरीको सम्मान गर्दै सहयोग गरे । भक्तपुरको दुवाकोटमा ध्वस्त भएको प्रहरी बिटलाई स्थानीयले नै पुनर्निर्माण गरे । काठमाडौंका तीनकुने र कोटेश्वरका कार्यालयमा सफाइ अभियान चल्यो, जसमा स्थानीयहरूले हातेमालो गरे । यसैगरी सातदोबाटो प्रहरी वृत्त र सातदोबाटो ट्रााफिक कार्यालय, मंगलबजार प्रहरी प्रभागको सरसफाइमा पनि स्थानीय जुटे र गक्षअनुसार सहयोगी बनेर प्रहरीमा मनोबल बढाइदियो । यो सहयोगले प्रहरी सेवालाई छिट्टै सुचारु बनायो । दक्षिण ललितपुरको टिका भैरव र गरुडा इलाका प्रहरी कार्यालयजस्ता स्थानमा स्थानीयको सहयोगमा सेवा पुनः सुरु भयो । यो घटनाले देखाउँछ कि प्रहरी र जनताबीचको सम्बन्ध अपरिहार्य छ । आन्दोलनले अपमान दियो तर स्थानीय सहयोगले सम्मान फर्कायो । प्रहरी उपरीक्षक राणाको उद्धरण यसैलाई साकार पार्छ – खरानीबाट आगो पुनः प्रज्वलित हुन्छ । प्रहरीहरू फेरि उठेका छन्, थप शक्तिशाली र प्रभावकारी रूपमा ।

जेनजी आन्दोलनले नेपालको युवा शक्तिलाई उजागर गर्‍यो तर यसले प्रहरीको भूमिकालाई पनि पुनः परिभाषित गर्‍यो । एसपी दीपशमशेर राणाको सन्देशले प्रहरीको लचकता र समर्पणलाई प्रतिबिम्बित गर्दछ । अपमानका बाबजुद सम्मानको यो यात्राले सिकाउँछ कि सुरक्षाका लागि आपसी सहयोग आवश्यक छ । ‘जनताको सुरक्षामा प्रहरी’ भनेर गर्व गर्नेबेला, ‘प्रहरीको सुरक्षामा को जाग्यो ?’ भन्ने प्रश्नले हामीलाई सोच्न बाध्य बनाउँछ । आन्दोलनकारीहरूले प्रहरीमाथि जाई लाग्दा कोही नआउनुले संस्थागत कमजोरी देखाउँछ तर स्थानीय सहयोगले आशा जगाउँछ । अन्ततः यस घटनाले जय नेपाल र जय नेपाल प्रहरीको नारा साकार पार्दै राष्ट्रिय एकताको सन्देश दिन्छ । प्रहरीहरू फेरि उठेका छन् – नयाँ ऊर्जासँग ।

ADV

सम्बन्धित खबर

Advertise