२०८२ असोज २ गते बिहिवार / Sep 18 , 2025 , Thursday
२०८२ असोज २ गते बिहिवार
Ads

युएईले गर्‍यो वर्किङ भिसामा पनि कडाइ

shivam cement
२०८२ असोज २ गते ०६:२०
युएईले गर्‍यो वर्किङ भिसामा पनि कडाइ

काठमाडौं : युएई सरकारले नेपालका हकमा कामदार (वर्किङ) भिसामा पनि कडाइ सुरु गरेको वैदेशिक रोजगार व्यवसायीहरूले बताएका छन् । युएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा  बन्द गरेको थियो ।

वर्किङ भिसाका लागि पेस भएका निवेदनहरूमा भिसा रद्द हुने प्रतिशत बढेको जानकारी आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष बैकुण्ठ पौडेल वैभवले बुधबार मध्यान्ह दैनिकलाई बताए । तर युएईले नेपाली कामदारको भिसा रोकिएको बारे कुनै जानकारी दिएको छैन । अवुधावीस्थित नेपाली राजदूतावासले पनि कुनै जानकारी नपाएको बताएको छ ।

भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा जेल तोडेर १३ हजार कैदी र ठुलो संख्यामा थुनुवा भागेका कारण ती व्यक्तिहरू आफ्नो मुलुक छिर्न सक्ने आंकलन गरेर अस्थायी रूपमा भिजिट भिसा रोकेको धेरैको आंकलन छ ।

संघका निवर्तमान द्वितीय उपाध्यक्ष सञ्जु गुरुङले कामदार भिसामा जान चाहने नेपालीको चालचलन र पृष्ठभूमि एकिन गर्न पुलिस रिपोर्ट माग गर्न सक्ने भएपनि भिसा नै बन्द गर्ने अवस्था नरहेको बताए । युएईले पाकिस्तानी र बंगलादेशी कामदारहरूको भिसा जारी गर्नुअघि चालचलन ठिक भएको पुलिस रिपोर्ट माग्ने गरेको छ ।

युएईले नेपालीलाई भिजिट भिसा नदिने निर्णय पनि आधिकारिक रूपमा गरेको छैन । युएईले भिसा जारी गर्ने ट्राभल्स एजेन्सीहरूलाई आन्तरिक सर्कुलर जारी गरेर नेपाली नागरिकको भिजिट भिसा आवेदन लिन रोकेको बताइएको छ । 

नेपाल युएईले कामदार लिने प्रमुखमध्येको स्रोत मुलुक हो । हाल युएईमा ४ लाख बढी नेपाली कामदार कार्यरत रहेका छन् । मासिक १२ हजारभन्दा बढी कामदार युएई जाने गरेका छन् ।

पछिल्लो समय नेपाल र युएईबीच प्रोटोकल बनाएर घरेलु महिला श्रमिकका लागि समेत बाटो खोल्ने विषयमा छलफल भइरहेको छ । घरेलु कामदार लैजाने विषयमा छलफल चलिरहेको अवस्थामा वातावरण बिग्रिने गरी वर्किङ भिसामा प्रतिबन्ध नलाग्ने कतिपय व्यवसायीहरूको भनाइ छ । 

युएईले वर्किङ भिसामा प्रतिबन्ध लगाए कतारले तत्कालै त्यसलाई अनुशरण गर्ने र त्यो क्रम नेपाली कामदार जाने सम्पूर्ण खाडी मुलुकमा पर्ने जोखिम रहेकोे कतिपय व्यवसायी बताउँछन् ।

ADV

सम्बन्धित खबर

Advertise