काठमाडौंः राजधानीबाट गाउँघरमा दशैँ मनाउन जानेहरुको चहलपहल सुरु भएको छ ।
नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरुमा घर जानेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाईको सिलसिलामा राजधानीमा रहेकाहरु दशैँ मनाउनको लागि घर फर्किन थालेका हुन् । यातयात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् ।
टिकट बुकिङ खुला नभएका कारण मानिसहरु यसपटक घटस्थापना अगाडदेखि नै घर जान थालेका हुन् । जेन(जी आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनितिक परिस्थितिले अधिकांश विद्यालय, क्याम्पसहरु विदा भइसकेका छन् । विद्यालय, क्याम्पस विदा भएसँगै घर फर्किन जानेहरुको बसपार्कमा चहलपहल बढेको हो ।
गएका वर्षहरुमा यातयात व्यवसायीहरुले दशैँका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेका थिए । फूलपातीदेखि टीकाको दिनसम्मलाई दशैँको महत्वपूर्ण दिनका रुपमा मनाउने गरिन्छ । फूलपातीको दिनसम्म यात्रु बाहिरिने गरेका ट्राफिक प्रहरीले जनाएको छ । यसवर्ष दशैँको टीका असोजको १६ गते रहेको छ ।