
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले जनताका गुनासा र आवश्यकतालाई केन्द्रमा राखेर सेवा प्रवाह र विकास निर्माणलाई तीव्रता दिएको छ । जनप्रतिनिधि र कर्मचारीहरूले बदलिँदो परिस्थितिमा सिंहदरबारको अधिकार गाउँसम्म पुगेको स्पष्ट देखिने गरी कार्यसम्पादनलाई अगाडि बढाएका छन्।
छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठका अनुसार गाउँपालिकाले नागरिकको स्वास्थ्य, शिक्षा र रोजगारप्रति संवेदनशील हुँदै विकास निर्माणका कामलाई द्रुत गतिमा अघि बढाइरहेको छ । उनका अनुसार गाउँपालिकाले सेवा प्रवाहमा पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकता दिँदै रचनात्मक कार्यहरू गर्दै आएको छ ।
गाउँपालिकाले बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमार्फत प्रत्येक दुई-दुई महिनाको अन्तरालमा विशेषज्ञ डाक्टर टोलीसँगै सबै वडामा पुगेर जेष्ठ नागरिक, अपाङ्ग र असहाय व्यक्तिहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य सेवामा सुधारसँगै गाउँपालिकाले लिजा प्रणालीमा पनि सुधार ल्याएको जनाएको छ ।
उपाध्यक्ष मनी पन्थीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन मूल्यांकनमा छत्रदेव गाउँपालिका जिल्ला–स्तरमा पहिलो र देशभरका ७८३ स्थानीय तहमध्ये सूचना अधिकारीको उत्कृष्टता सम्मान प्राप्त गर्न सफल भएको छ ।
गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचारका लागि घरदैलो सेवा सञ्चालन गर्दै आएको छ । साथै, उनीहरूको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गरेर घरमै पुर्याइदिने, सबै वडामा पुगेर एकीकृत घुम्ती शिविरमार्फत योजना सम्झौता, परिचयपत्र वितरण, घरेलु उद्योग दर्ता, माटो परीक्षण, भेटनरी तथा परामर्श सेवा लगायतका कार्यहरू गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार छत्रदेवमा आफू आउँदैदेखि जनमुखी प्रशासनलाई प्राथमिकता दिँदै “सेवाग्राहीले पाँच मिनेटभन्दा बढी प्रतिक्षा गर्न नपर्ने” प्रणाली कार्यान्वयनमा ल्याइएको छ । स्थानीयवासी भानु पराजुलीका अनुसार अहिले कार्यालयमा मुस्कानसहितको सहज सेवा पाइने भएकाले नागरिक सन्तुष्ट छन् ।
गाउँपालिकाले बिरामीका लागि आवश्यक रगत निःशुल्क उपलब्ध गराइरहेको छ । त्यस्तै, नेपाल नेत्र ज्योति संघ, जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीसँग सहकार्य गर्दै प्रत्येक वर्ष छत्रदेवका नागरिकलाई मोतियाबिन्दु शल्यक्रिया लगायत आँखा उपचार सेवा निःशुल्क प्रदान गरिँदै आएको छ । गत वर्ष मात्रै करिब २०० जनाको निःशुल्क आँखाको परीक्षण, औषधि, चस्मा वितरण र शल्यक्रिया गरिएको थियो ।
त्यसका साथै गाउँपालिकाले एक जना आँखा प्राविधिकसहित प्राथमिक आँखा उपचार केन्द्र स्थापना गरी एक वर्षदेखि नियमित सेवा प्रदान गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । औषधि आपूर्तिमा नियमितता कायम गर्न प्रत्येक वर्ष पर्याप्त औषधिको व्यवस्था गरिएको पनि प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।
सहकारी क्षेत्रको सुदृढीकरणका लागि गाउँपालिकाले उद्देश्यविपरीत सञ्चालनमा रहेका तथा लामो समयदेखि निष्क्रिय सहकारीहरूलाई नियमन गरेको छ । पाण्डेका अनुसार अब सहकारीहरूले गाउँपालिकासँग सहकार्य गर्दै जनमुखी काम गर्न थालेका छन् ।
गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरूलाई घरमै गएर आवश्यक सामग्री वितरण गर्ने, कृषकहरूसँग छलफल गर्ने, जेष्ठ नागरिकलाई सम्मान गर्ने तथा विभिन्न योजनाको अनुगमन र निरीक्षण कार्यलाई निरन्तरता दिएको छ ।