चितवन : विद्युत्का खम्बा प्रयोग गरेवापत भाडा तिर्न अटेर गरेका इन्टरनेट प्रदायकसँग झण्डै रु एक करोड असुल गरिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले कडाइ गरेसँगै साउनयता रु ९६ लाख ८४ हजार ९७ भाडा असुली गरेको हो ।
जिल्लाका केवल टिभी तथा इन्टरनेट प्रदायक संस्थाबाट सो रकम असुल गरिएको हो । केन्द्रका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार भदौ महिनाबाट भाडा उठाउन थालिएको हो । केन्द्रको कार्यक्षेत्रका १४ वटा कम्पनीले खम्बा प्रयोग गरेबापत सो रकम बुझाएका हुन ।
केही कम्पनीले आफ्नो नाम नखुलाई भाडा तिरेका छन् भने १२ वटा कम्पनीले नाम खुलाएर तिरेका हुन । भाडा तिर्नेमा चित्रवन युनिक केवलले रु ३० लाख ५५ हजार ६८, कनेक्ट नेपालले रु एक लाख ७७ हजार ९७५, त्रिवेणी केवल नेटवर्कले रु एक लाख ९३ हजार ८००, प्राइम नेटवर्कले रु दुई लाख तीन हजार ४००, फाइवर वल्ड कम्युनिकेसन प्रालिले रु एक लाख २२ हजार ४०, ब्रोडलिङकले एक लाख एक हजार ७०० र वेबसफरले रु तीन लाख पाँच हजार १०० भाडा तिरेका छन् ।
यसैगरी डिसहोमले रु ६ लाख ६१ हजार ५०, पीडी एस सर्भर नेटवर्कले रु २५ हजार ४२५, सुविसु नेटवर्कले रु २२ लाख २४ हजार ६६, टेकमाइन्स कम्युनिकेसनले रु २० लाख र एन्जियटा एन सेलले रु ८५ हजार ४२८ रकम बुझाएका छन् ।
दुई वटा कम्पनीले नाम नखुलाई रु एक लाख ११ हजार ४८७ र रु चार लाख १७ हजार ५४० जम्मा गरेको उनले बताए । पौडेलले भने, अझै चार वटा कम्पनीले भाडा तिर्न बाँकी छ । तिर्न बाँकी रहेका कम्पनीमा वल्ड लिंक, भायोनेट, सिम टिभी र क्लासिकटेकले भाडा बुझाउन बाँकी रहेको उनले बताए ।
वल्ड लिंकले रु ६१ लाख, भायो नेटले रु ३० लाख, सिम टिभीले रु ३० लाख र क्लासिकटेकले रु २१ लाख ७६ हजार बुझाउन बाँकी रहेको उनले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies