
काठमाडौं : प्रतिनिधिसभा निर्वाचनका लागि हालसम्म ३७ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता भएका कुल १२६ दलीय मध्ये ३७ दलले प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने गरी दर्ता गराएका छन् भने ३० दलको दर्ता प्रक्रिया जारी छ ।
दर्ता भएका दलमध्ये देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा नेपाल लगायत छन् । तर नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूला दलले भने अझै दर्ता प्रक्रिया पूरा गरेका छैनन् ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको म्याद मंसिर १० गतेसम्म तोकिएको छ । आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने नागरिकको नामावली मंसिर २० गते प्रकाशित हुने र त्रुटि सच्याउने समय मंसिर २१ देखि २७ गते रहनेछ। अन्तिम मतदाता नामावली पुस १५ गते सार्वजनिक हुनेछ ।
आयोगले चुनावका लागि सुरक्षा र व्यवस्थापनलगायतका आवश्यक तयारी कार्ययोजना अनुसार अघि बढिरहेको जनाएको छ ।