
काठमाडौं : भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित परिवारलाई सहयोग जुटाउने उद्देश्यले ललितपुरमा विशेष कविता वाचन कार्यक्रम आयोजना गरिने भएको छ । साहित्यिक माध्यममार्फत राहत संकलन गर्ने लक्ष्यसहित आयोजना हुन लागेको उक्त कार्यक्रममा कवि प्रकाश सायमीको एकल कविता वाचन प्रस्तुत गरिनेछ ।
आयोजकका अनुसार कार्यक्रममा सहभागी हुने दर्शक तथा साहित्यप्रेमीहरूले स्वेच्छिक रूपमा प्रदान गर्ने आर्थिक सहयोग संकलन गरिनेछ । संकलित सम्पूर्ण रकम रसुवा जिल्लाका बाढीपीडित परिवारको राहत तथा पुनर्स्थापनाका लागि हस्तान्तरण गरिने जानकारी दिइएको छ ।
कार्यक्रम भदौ २४ गते बुधबार ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजना हुनेछ । दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउने र साहित्यलाई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । कार्यक्रममा सहभागी भई कविता सुन्नुका साथै आफ्नो सामर्थ्यअनुसार सहयोग गरेर बाढीपीडितलाई साथ दिन आयोजकले सबैमा आग्रह गरेको छ ।