२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कालिकोटमा कर्णाली करिडोर र कालिकोट-जुम्ला सडकमा सवारी आवागमन बन्द

Nada
२०८३ असोज ९ गते १३:१८
Shares
कालिकोटमा कर्णाली करिडोर र कालिकोट-जुम्ला सडकमा सवारी आवागमन बन्द

काठमाडौँ : लगातारको वर्षाका कारण सडक तथा राजमार्गमा बाढी र पहिरोको जोखिम बढेपछि कालिकोटमा दुई प्रमुख सडक खण्डमा सवारी आवागमन बन्द गरिएको छ ।

ncell

जिल्ला प्रशासन कार्यालय कालिकोटले शुक्रबारदेखि कर्णाली करिडोर र कालिकोट–जुम्ला सडक खण्डमा अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

कार्यालयले असोज ९ गते जारी गरेको सूचनाअनुसार असोज ८ गते रातिदेखि जिल्लामा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण सडक तथा राजमार्गमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले मानवीय तथा भौतिक क्षति हुन नदिन सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म रोक कायम रहने जनाएको छ । अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारी साधन सञ्चालन नगर्न तथा नगराउन पनि प्रशासनले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

नेपाल मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विशेष मौसमी बुलेटिनमार्फत जनाएको थियो । सोही मौसमी अवस्थालाई ध्यानमा राख्दै प्रशासनले सडक सुरक्षाका लागि आवागमनमा रोक लगाएको हो ।

ताजा खबर

सम्बन्धित खबर