२०८३ कार्तिक १५ गते आइतवार / Nov 01 , 2026 , Sunday
२०८३ कार्तिक १५ गते आइतवार

कतारमा २०औं एसियाली स्वास्थ्य शिविर सम्पन्न, दुई हजारभन्दा बढी लाभान्वित

Nada
तिलु शर्मा पौडेल
२०८३ कार्तिक १५ गते १९:२९
Shares
कतारमा २०औं एसियाली स्वास्थ्य शिविर सम्पन्न, दुई हजारभन्दा बढी लाभान्वित

दोहा, कतार : कतारमा प्रवासी श्रमिक, घरेलु कामदार तथा विभिन्न एसियाली मुलुकका नागरिकलाई लक्षित गरी आयोजित २०औं एसियाली स्वास्थ्य शिविर सम्पन्न भएको छ । शुक्रबार दोहास्थित उम्म अल सिनिम स्वास्थ्य केन्द्रमा आयोजित शिविरबाट दुई हजारभन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकको परामर्श तथा औषधि सेवा प्राप्त गरेका छन् ।

कतारका लागि भारतीय राजदूत डा. के. श्रीकर रेड्डीले शिविरको उद्घाटन गर्दै एसियाली स्वास्थ्य शिविर सामाजिक सेवाप्रतिको प्रतिबद्धता र मानवीय सहयोगको उत्कृष्ट नमुना भएको बताए । यस्ता कार्यक्रमले विभिन्न समुदायबिच आपसी समझदारी, सद्भाव र मित्रता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

कामको व्यस्तता तथा आर्थिक कठिनाइका कारण स्वास्थ्य परीक्षणबाट वञ्चित नहुन प्रवासी श्रमिकलाई आग्रह गर्दै उनले रोगको समयमै पहिचान र उपचारले स्वास्थ्य अवस्था सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । शिविर सफल बनाउन महिनौँदेखि खटिएका सेन्टर फर इन्डियन कम्युनिटी (सिआइसी) कतार, इन्डियन डक्टर्स क्लब, सहयोगी संस्था, प्रायोजक तथा स्वयंसेवकप्रति उनले आभार व्यक्त गरे ।

उद्घाटन समारोहमा श्रीलङ्काका लागि कतारस्थित राजदूत सितारा खान आजार्ड, प्राथमिक स्वास्थ्य सेवा निगमकी क्षेत्रीय निर्देशक डा. हयाम अल सदा, हमाद मेडिकल कर्पोरेसनका जनसम्पर्क सहायक कार्यकारी निर्देशक अहमद अल मल्कीलगायत विभिन्न देशका कूटनीतिक प्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो । नेपाली दूतावासका प्रथम सचिव जितेन्द्र गिरी र बङ्गलादेशी दूतावासका वरिष्ठ काउन्सिलर मशुद कबिर पनि सहभागी थिए ।

सिआइसी कतारको आयोजना तथा इन्डियन डक्टर्स क्लबको सहकार्यमा सञ्चालित शिविर कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य सेवा निगम र हमाद मेडिकल कर्पोरेसनको सुपरिवेक्षणमा सम्पन्न भएको हो । कार्यक्रममा सिआइसी अध्यक्ष आरएस अब्दुल जलीलले अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।

शिविरमा मुटु, मिर्गौला, कलेजो, हाड जोर्नी, छाला, आँखा, दन्त तथा नाक, कान र घाँटीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो । साथै रक्तदान, अङ्ग दान दर्ता, मानसिक स्वास्थ्य परामर्श, फिजियोथेरापी, श्रवण तथा आँखा परीक्षण र स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो । सहभागीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ ।

स्वास्थ्य सचेतनाअन्तर्गत मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, स्वस्थ खानपान, सुर्तीजन्य पदार्थको असर, व्यक्तिगत सरसफाइ, कार्यस्थलको स्वास्थ्य तथा सुरक्षा, प्राथमिक उपचार र आकस्मिक अवस्थामा जीवन बचाउने आधारभूत सीपबारे जानकारी दिइएको थियो ।

शिविरमा १४० भन्दा बढी विशेषज्ञ चिकित्सक, १५० भन्दा बढी नर्स, ४० भन्दा बढी फार्मासिस्ट तथा सिआइसी कतारसँग आबद्ध पाँच सयभन्दा बढी स्वयंसेवक परिचालित थिए । शुक्रवार बिहान ६ः३० देखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन भएको शिविरको व्यवस्थापन जनरल संयोजक नौफल पालेरी, संयोजक मुस्ताक हुसेन र शिविर इन्चार्ज डा. शफिक थाप्पीले गरेका थिए ।

शिविरमा युनाइटेड नर्सेस अफ इन्डिया कतार, वेलकेयर फार्मेसी, इन्डियन फार्मासिस्ट एसोसिएसन कतार, इन्डियन फिजियोथेरापी फोरम, कतार रेड क्रिसेन्ट, कतार डायबिटिज एसोसिएसन र शेख जासिम फाउन्डेसनले सहकार्य तथा सहयोग गरेका थिए ।

दुई दशकदेखि निरन्तर आयोजना हुँदै आएको एसियाली स्वास्थ्य शिविर न्यून आय भएका श्रमिक, घरेलु कामदार तथा नियमित स्वास्थ्य सेवाको पहुँचमा पुग्न कठिनाइ भएका प्रवासीलाई लक्षित गरी सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर