२०८३ कार्तिक २३ गते सोमवार / Nov 09 , 2026 , Monday
२०८३ कार्तिक २३ गते सोमवार

टाइमको जलवायुका १०० प्रभावशाली व्यक्तित्वमा अर्थमन्त्री वाग्ले

Nada
२०८३ कार्तिक २३ गते २२:१०
Shares
टाइमको जलवायुका १०० प्रभावशाली व्यक्तित्वमा अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइम को सन् २०२६ का जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् ।

नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षति र त्यसको क्षतिपूर्तिका लागि वाग्लेले अन्तर्राष्ट्रियस्तरमा गरेको पैरवीलाई टाइम ले उनको छनोटको आधारका रूपमा उल्लेख गरेको छ ।

वाग्लेबारे प्रकाशित प्रोफाइलमा टाइम ले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान भए पनि विकासशील देशहरू जलवायु परिवर्तनबाट असमान रूपमा बढी प्रभावित भइरहेको उल्लेख गरेको छ । पत्रिकाले लेखेको छ, ‘विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा सानो हिस्सा भए पनि विकासशील देशहरू जलवायु परिवर्तनबाट असमान रूपमा बढी प्रभावित छन् ।’

गत अगस्टमा नेपालमा भएको हिमताल विस्फोटपछिको बाढी र त्यसले निम्त्याएको क्षतिलाई उल्लेख गर्दै टाइम ले जलवायु न्यायका लागि वाग्लेले गरेको पहललाई प्राथमिकता दिएको छ ।

बाढीपछि नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिको क्षतिपूर्तिका लागि चीन, अमेरिका र भारतसँग औपचारिक आग्रह गरेको थियो । बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि करिब पाँच अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको थियो ।

वाग्लेले जलवायु परिवर्तनबाट प्रभावित मुलुकलाई सहयोग गर्न स्थापना गरिएको संयुक्त राष्ट्रसंघीय ‘लस एन्ड ड्यामेज फन्ड’ बाट नेपाललाई सहायता उपलब्ध गराउन पहल गरेका थिए । टाइम का अनुसार, अक्टोबर २२ मा उक्त कोषबाट नेपाललाई २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रारम्भिक स्वीकृति प्राप्त भएको थियो । कोषबाट कुनै देशका लागि रकम स्वीकृत भएको यो पहिलो घटना हो ।

यस वर्षको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनलगायत व्यक्तित्व पनि समेटिएका छन् ।

वाग्ले यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, विश्व बैंकका वरिष्ठ अर्थशास्त्री तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया–प्रशान्त क्षेत्रीय ब्युरोका प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।

यसैबीच, अर्थमन्त्री वाग्ले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन सोमबार टर्किए प्रस्थान गरेका छन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर