२०८३ कार्तिक २३ गते सोमवार / Nov 09 , 2026 , Monday
२०८३ कार्तिक २३ गते सोमवार

ट्रम्पलाई जुन मुद्दाले जिताएथ्यो, त्यही बन्यो हारको कारण

हारमा आप्रवासनमम्बन्धी नीति मुख्य कारण, ट्रम्प आफैले स्वीकारे- 'देशनिकाला नीति अलि बढी कठोर भयो ।’

Nada
२०८३ कार्तिक २३ गते २२:४६
Shares
ट्रम्पलाई जुन मुद्दाले जिताएथ्यो, त्यही बन्यो हारको कारण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको ठूलो पराजयलाई व्यक्तिगत असफलता मान्न अस्वीकार गरेका छन् । तर, चुनावी परिणामले उनको लोकप्रियता, आर्थिक नीति, इरान युद्ध र आप्रवासनसम्बन्धी कठोर नीतिमाथि मतदाताको असन्तुष्टि प्रकट गरेको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि ट्रम्पले हारका लागि कहिले उम्मेदवारलाई दोष दिएका छन्, कहिले आफू मतपत्रमा नरहेको तर्क गरेका छन् । यद्यपि, इरान युद्ध र त्यसले बढाएको इन्धनको मूल्यले पराजयमा भूमिका खेलेको उनले स्वीकार गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यम रोयटर्स, एसोसिएटेड प्रेस, सीबीएस न्युज र द वासिङ्टन पोस्टका समाचार तथा विश्लेषणले यो पराजयलाई सामान्य चुनावी उतारचढावभन्दा ठूलो राजनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् । यसले ट्रम्पको नेतृत्वशैली र उनको राजनीतिक अभियानको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ ।

हारको जिम्मा कसलाई दिए ट्रम्पले ?
नोभेम्बर ३ मा भएको मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूले प्रतिनिधिसभा र सिनेट दुवैमा बहुमत हासिल गरे । रिपब्लिकन पार्टीले प्रतिनिधिसभाका ४० भन्दा बढी र सिनेटका कम्तीमा सात सिट गुमायो । दुई वर्षअघि ट्रम्पलाई उल्लेख्य समर्थन दिएका केही राज्य र निर्वाचन क्षेत्रमा समेत रिपब्लिकन उम्मेदवार पराजित भए ।

हारपछि ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा आफू चुनावी मतपत्रमा नरहेको विषयलाई मुख्य कारणका रूपमा प्रस्तुत गरे । उनको भनाइ थियो, ‘म मतपत्रमा भएको भए हामीले ठूलो अन्तरले जित्ने थियौँ ।’

उनले आफ्ना चुनावी सभा र समर्थनका कारण रिपब्लिकन उम्मेदवारहरू जितको नजिक पुगेको दाबी गरे । तर, कतिपय उम्मेदवारप्रति मतदाता आकर्षित नभएको र उनीहरूलाई मतदान गर्न नचाहेको पनि उनको भनाइ थियो ।

ट्रम्पले टेक्सासका रिपब्लिकन उम्मेदवार ग्रेग एबटको पराजयमा उनकै राजनीतिक व्यवहारलाई दोष दिए । उनले एबटले पछिल्लो समय आफ्नो पुरानो राजनीतिक शैली छाडेकाले हार व्यहोर्नुपरेको टिप्पणी गरे ।

तर, निर्वाचन परिणामलाई व्यक्तिगत असफलताका रूपमा स्वीकार गर्न ट्रम्प तयार देखिएनन् । उनले चुनावी परिणाम स्वीकार गर्दै डेमोक्र्याटसँग केही विषयमा सहकार्य गर्न सकिने बताए पनि आफूलाई मन नपर्ने विधेयकमा भिटो प्रयोग गर्ने चेतावनी दिए । 

नोभेम्बर ८ मा सीबीएस न्युजको चर्चित कार्यक्रम ‘६० मिनेट्स’सँगको अन्तर्वार्तामा भने ट्रम्पले हारका कारणबारे केही थप स्वीकारोक्ति गरे । उनले इरान युद्ध, महँगी, आर्थिक उपलब्धि जनतासम्म पुर्‍याउन नसकेको कमजोरी र आप्रवासन नियन्त्रणका क्रममा अपनाइएको कठोरताबारे बोले ।

इरान युद्ध र महँगिएको जीवन
ट्रम्पले चुनावी हारको एउटा प्रमुख कारण इरान युद्धलाई मानेका छन् । फक्स न्युज र वालस्ट्रिट जर्नलसँगको कुराकानीमा उनले इरान युद्धले रिपब्लिकनको पराजयमा भूमिका खेलेको स्वीकार गरेका थिए ।

‘इरान पनि एउटा कारण थियो,’ उनले भनेका थिए ।

अमेरिका र इजरायलको इरानमाथिको सैन्य कारबाही लामो समयसम्म जारी रहँदा अमेरिकी अर्थतन्त्रमा त्यसको प्रत्यक्ष प्रभाव परेको थियो । इन्धनको मूल्य बढ्यो । यातायातदेखि दैनिक उपभोग्य वस्तुसम्मको लागत महँगियो । युद्धले अमेरिकालाई नयाँ सैन्य द्वन्द्वमा फसाएको भन्दै मतदाताको असन्तुष्टि पनि बढ्यो ।

ट्रम्पले चुनावी पराजयमा युद्धको भूमिका स्वीकार गरे पनि आफ्नो निर्णय गलत नभएको जिकिर गरेका छन् । वालस्ट्रिट जर्नलसँग उनले भनेका थिए, ‘मैले सही काम गरेको हुँ । फेरि गर्नुपरे पनि म यही निर्णय गर्नेछु ।’

६० मिनेट्ससँगको अन्तर्वार्तामा पनि उनले इरानको सैन्य तथा आणविक क्षमतामा क्षति पुर्‍याउनु आफ्नो प्रशासनको उपलब्धि भएको दाबी गरे । उपराष्ट्रपति जेडी भान्सले इरान युद्धलाई पराजयको मुख्य कारण मानेको अभिव्यक्तिसँग पनि ट्रम्पले पूर्ण असहमति जनाएनन् ।

भान्सले निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमा युद्धप्रतिको जनअसन्तुष्टिलाई रिपब्लिकनको हारको प्रमुख कारण बताएका थिए ।

युद्धको राजनीतिक मूल्य ट्रम्पको अपेक्षाभन्दा ठूलो भएको देखिन्छ । निर्वाचनअघि उनले अमेरिकी जनतालाई नयाँ युद्धमा नफसाउने प्रतिबद्धता गरेका थिए । तर, इरानसँगको युद्धले त्यही प्रतिबद्धतामाथि प्रश्न उठायो ।

रोयटर्सका अनुसार ट्रम्पकै राजनीतिक आधार मानिने म्यागा (मेक अमेरिका ग्रेट अगेन) समूहभित्र समेत युद्धप्रति असन्तुष्टि बढेको छ । रोयटर्सले गरेको सामाजिक सञ्जाल विश्लेषणमा पराजयपछि म्यागा समर्थकका एक हिस्साले नेतृत्व र आन्दोलनको दिशामाथि प्रश्न उठाएको देखिएको छ । 

अर्थतन्त्र राम्रो, जनताको अनुभव खराब
ट्रम्पले आर्थिक अवस्थालाई आफ्नो प्रशासनको उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका थिए । सेयर बजार, रोजगारी र औद्योगिक उत्पादनका सूचक राम्रो रहेको उनको दाबी थियो । तर, निर्वाचन परिणामले आर्थिक तथ्यांक र आम नागरिकको दैनिक अनुभवबीच ठूलो अन्तर रहेको देखायो ।

६० मिनेट्ससँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकी अर्थतन्त्रको अवस्था ‘उत्कृष्ट’ रहेको बताए । तर, त्यसको प्रचारप्रसार र उपलब्धि जनतासम्म पुर्‍याउन नसकिएको स्वीकार गरे ।

‘हामीले आफ्नो कुरा जनतासम्म पुर्‍याउन सकेनौँ,’ उनले भने । यसमा आफ्नो सञ्चार शैली पनि कमजोर भएको हुन सक्ने उनको भनाइ थियो ।

सीबीएस न्युजको निर्वाचनपछिको मतदाता सर्वेक्षणअनुसार करिब ७५ प्रतिशत मतदाताले अमेरिकी अर्थतन्त्रको अवस्था खराब वा त्यति राम्रो नभएको बताएका थिए । त्यस्ता मतदातामध्ये ७० प्रतिशतले डेमोक्र्याट उम्मेदवारलाई मत दिएका थिए ।

खासगरी पेट्रोलियम पदार्थ, खाद्यान्न, विद्युत् तथा स्वास्थ्य सेवाको मूल्यवृद्धि मतदाताको प्रमुख चिन्ता थियो । ट्रम्प प्रशासनले लागू गरेका भन्सार शुल्क (ट्यारिफ) नीतिले अमेरिकी अर्थतन्त्रलाई नोक्सान पुर्‍याएको विश्वास गर्ने मतदाताको संख्या पनि ठूलो थियो । सीबीएसको सर्वेक्षणमा दुईतिहाइ मतदाताले ट्रम्पको ट्यारिफ नीतिले अर्थतन्त्रलाई हानि पुर्‍याएको बताएका थिए ।

अर्थात्, ट्रम्पले अर्थतन्त्रको समग्र सूचक राम्रो भएको दाबी गरे पनि मतदाताले आफ्नो भान्सा, इन्धन खर्च र स्वास्थ्य सेवाको बिलबाट सरकारको कामको मूल्यांकन गरे ।

एसोसिएटेड प्रेस (एपी) को विश्लेषणले पनि महँगीलाई पराजयको प्रमुख कारण मानेको छ । एपीका अनुसार करिब ६० प्रतिशत मतदाताले सामान्यभन्दा बढी मूल्यवृद्धि हुनुमा ट्रम्प प्रशासनका नीतिलाई जिम्मेवार ठानेका थिए ।

यसले ट्रम्पको आर्थिक राष्ट्रवाद र ‘अमेरिका फर्स्ट’ नीतिको राजनीतिक सीमासमेत उजागर गरेको छ । आर्थिक उपलब्धिको दाबीले मात्रै नागरिकको दैनिक जीवन सहज नभएसम्म चुनाव जित्न नसकिने सन्देश मतदाताले दिएका छन् । 

आप्रवासनमा कठोरता उल्टै भारी
सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका खेलेको मुद्दा आप्रवासन नियन्त्रण थियो । अवैध आप्रवासीलाई देशनिकाला गर्ने, सीमा नियन्त्रण कडा बनाउने र अमेरिकी रोजगारी अमेरिकी नागरिकलाई उपलब्ध गराउने उनको प्रतिबद्धताले ठूलो समर्थन पाएको थियो ।

तर, दोस्रो कार्यकालमा त्यसलाई कार्यान्वयन गर्ने क्रममा अपनाइएको कठोरताले उनलाई राजनीतिक रूपमा अप्ठ्यारोमा पारेको देखिन्छ ।

६० मिनेटको अन्तर्वार्तामा ट्रम्पले आफ्नो देशनिकाला नीति कतिपय अवस्थामा अत्यधिक कठोर भएको स्वीकार गरे ।

उनले भने, ‘मलाई लाग्छ, यो अलि बढी कठोर भयो ।’

उनका अनुसार आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई देशनिकाला गर्दा समर्थन पाए पनि गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका, तर त्यहाँ काम गरिरहेका र कर तिरिरहेका मानिसलाई समेत हटाउँदा असन्तुष्टि बढेको थियो ।

सीबीएसको निर्वाचनपछिको सर्वेक्षणमा ५८ प्रतिशत मतदाताले ट्रम्प प्रशासनले आप्रवासन नियन्त्रणका नाममा अपनाएका कदम आवश्यकताभन्दा बढी कठोर भएको बताएका थिए ।

विशेषगरी टेक्सासजस्ता राज्यमा दुई वर्षअघि ट्रम्पलाई समर्थन गरेका ल्याटिन अमेरिकी मूलका मतदाताको एउटा हिस्सा डेमोक्र्याटतर्फ फर्किएको देखियो । आप्रवासन नियन्त्रणको कठोर शैलीले परिवार र समुदायमा पारेको प्रभाव त्यसको एउटा कारण थियो ।

यसले ट्रम्पका लागि गम्भीर राजनीतिक विरोधाभास सिर्जना गरेको छ । जुन मुद्दाले उनलाई ह्वाइट हाउस पुर्‍याउन सहयोग गर्‍यो, त्यही मुद्दाको कार्यान्वयन शैलीले मतदाता टाढिन थाले ।

भ्रष्टाचार र अधुरो प्रतिबद्धता
ट्रम्पको पराजयको अर्को कारण सरकारको कार्यशैली र भ्रष्टाचारसम्बन्धी प्रश्नलाई मानिएको छ ।

निर्वाचनअघि ट्रम्पले वासिङ्टनको राजनीतिक तथा प्रशासनिक संरचनामा रहेको भ्रष्टाचार अन्त्य गर्ने, सरकारी संयन्त्रलाई जनताको हितमा सञ्चालन गर्ने र शक्तिशाली स्वार्थ समूहको प्रभाव घटाउने प्रतिबद्धता गरेका थिए ।

तर, दोस्रो कार्यकालमा उनको प्रशासनमाथि नै स्वार्थको द्वन्द्व, राजनीतिक निकटता र पारदर्शिताको अभावसम्बन्धी प्रश्न उठे ।

ट्रम्पको व्यक्तिगत सम्पत्ति बढेको, उनको परिवारसँग जोडिएका व्यावसायिक गतिविधि र सरकारी जिम्मेवारीबीचको सम्बन्धबारे पनि आलोचना भयो । यौन अपराधमा दोषी ठहर भएका जेफ्री एपस्टिनसँग सम्बन्धित सरकारी अनुसन्धानका कागजात सार्वजनिक गर्ने प्रतिबद्धता पूरा नभएको भन्दै उनका आफ्नै समर्थकले प्रश्न उठाए ।

एपीले निर्वाचन विश्लेषणमा भ्रष्टाचार र सरकारी अव्यवस्थालाई मतदाताको असन्तुष्टिको महत्वपूर्ण आधार मानेको छ ।

डेमोक्र्याट नेता तथा पूर्व ह्वाइट हाउस चिफ अफ स्टाफ रहम इमानुएलले अमेरिकी जनताले सार्वजनिक पदमा रहेका व्यक्तिको भ्रष्टाचार मन नपराउने टिप्पणी गरेका थिए ।

रोयटर्ससँग कुरा गर्दै रिपब्लिकन सिनेटर रोन जोन्सनले समेत सरकारका सबै तहमा भ्रष्टाचार रहेको र ट्रम्प प्रशासन पनि त्यसबाट अछुतो नरहेको टिप्पणी गरे ।

यसले ट्रम्पको ‘भ्रष्टाचार अन्त्य गर्ने’ नारामाथि नै प्रश्न उठाएको छ । 

म्यागा आन्दोलनमै असन्तुष्टि
ट्रम्पको पराजयलाई केवल रिपब्लिकन पार्टीको चुनावी असफलताका रूपमा मात्र हेर्न नमिल्ने अर्को आधार म्यागा आन्दोलनभित्र देखिएको असन्तुष्टि हो ।

सन् २०१६ देखि अमेरिकी राजनीतिमा प्रभावशाली बनेको म्यागा आन्दोलन ट्रम्पको व्यक्तित्व, राष्ट्रवादी राजनीति, आप्रवासन नियन्त्रण र परम्परागत राजनीतिक संस्थाप्रतिको विरोधमा आधारित छ ।

तर, अहिले त्यही आन्दोलनभित्र नेतृत्व र प्राथमिकताबारे मतभेद देखिन थालेको रोयटर्सको विश्लेषण छ ।

रोयटर्सले १२ हजार ८५० सामाजिक सञ्जाल पोस्टको विश्लेषण गर्दा म्यागाका रूपमा आफूलाई चिनाउने समर्थकमध्ये २० प्रतिशतभन्दा बढीले आन्दोलनको नेतृत्व वा दिशामाथि प्रश्न उठाएको पाएको छ । प्रश्न उठाउनेमध्ये करिब आधाले म्यागा आन्दोलनलाई समर्थन गरे पनि ट्रम्पलाई त्यसको नेतृत्वमा नराख्ने धारणा व्यक्त गरेका थिए ।

कतिपय समर्थकले ट्रम्पले महँगी नियन्त्रण, युद्धबाट टाढा रहने र भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता पूरा नगरेको आरोप लगाएका छन् ।

म्यागा समर्थक तथा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्याननले आन्दोलनलाई पुनर्निर्माण गर्नुपर्ने बताएका छन् । उनले आप्रवासन नियन्त्रण र राष्ट्रवादी एजेन्डालाई अझ बलियो बनाउनुपर्ने धारणा राखेका छन् ।

तर, सबै समर्थकको धारणा एउटै छैन । कतिपयले आन्दोलनलाई एक व्यक्तिको प्रभावबाट मुक्त गर्नुपर्ने बताएका छन् भने केहीले म्यागा आन्दोलनको राजनीतिक प्रभाव नै कमजोर हुँदै गएको टिप्पणी गरेका छन् ।

रोयटर्सका अनुसार ट्रम्पका कट्टर समर्थकबीच पनि पहिलेको जस्तो उत्साह र सक्रियता देखिएको छैन । आन्दोलनप्रतिको आकर्षण घट्दै गएको संकेत सामाजिक सञ्जालको गतिविधिमा समेत देखिएको छ ।

यसलाई ट्रम्पको व्यक्तिगत लोकप्रियतामा आएको गिरावट मात्र नभई उनले निर्माण गरेको राजनीतिक गठबन्धनमै देखिएको संकटका रूपमा हेरिएको छ । 

ट्रम्पको राजनीतिक प्रभाव घट्दै गएको हो ?
एपीको विश्लेषणले यसपटकको निर्वाचनलाई ट्रम्पको राजनीतिक प्रभावमाथि मतदाताले दिएको गम्भीर चुनौतीका रूपमा व्याख्या गरेको छ ।

सन् २०२४ मा ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा, अश्वेत र ल्याटिन अमेरिकी मूलका मतदाताको एउटा हिस्सा डेमोक्र्याटतर्फ फर्किएको छ । ट्रम्पले रिपब्लिकन उम्मेदवारका लागि २५ करोड डलरभन्दा बढी खर्च र प्रचार अभियानमा सक्रिय सहभागिता जनाउँदा पनि उनीहरूलाई जिताउन सकेनन् ।

एपीका अनुसार ट्रम्पले समर्थन गरेका टेक्सासका केन प्याक्स्टन, साउथ क्यारोलिनाकी डार्लिन ग्राहम र नर्थ क्यारोलिनाका माइकल ह्वाट्लीसमेत पराजित भए ।

यसले ट्रम्पको समर्थन मात्रै उम्मेदवार जिताउन पर्याप्त नहुने देखाएको छ । मतदाताले उम्मेदवारको व्यक्तिगत छवि, नीति र राजनीतिक व्यवहारलाई समेत महत्व दिन थालेका छन् ।

अमेरिकाका परम्परागत रिपब्लिकन राज्य मानिएका टेक्सास, साउथ क्यारोलिना र क्यान्ससमा समेत डेमोक्र्याटको प्रभाव विस्तार हुनु यसपटकको परिणामको अर्को महत्वपूर्ण पक्ष हो ।

द वासिङ्टन पोस्टले अमेरिकी सहयोगी राष्ट्रहरूको दृष्टिकोणबाट समेत निर्वाचन परिणामको विश्लेषण गरेको छ । उसका अनुसार ट्रम्पको पराजयले अमेरिका फेरि पुरानै अन्तर्राष्ट्रिय भूमिकामा फर्किने सुनिश्चितता भने गरेको छैन । अमेरिकी मतदाताको प्राथमिकता अझै पनि घरेलु अर्थतन्त्र र आन्तरिक मुद्दामै केन्द्रित देखिएको छ ।

यसको अर्थ ट्रम्पको पराजयसँगै उनको ‘अमेरिका फर्स्ट’ नीतिको अन्त्य हुन्छ भन्ने होइन । बरु अमेरिकी राजनीतिमा विश्वव्यापी नेतृत्वभन्दा घरेलु प्राथमिकतालाई महत्व दिने प्रवृत्ति रिपब्लिकन र डेमोक्र्याट दुवैतर्फ फैलिएको विश्लेषण गरिएको छ । 

अब ट्रम्पका लागि चुनौती
निर्वाचन परिणामले ट्रम्पलाई आफ्नो कार्यकालको बाँकी दुई वर्ष कठिन बनाइदिएको छ । सन् २०२७ देखि डेमोक्र्याटको नियन्त्रणमा रहने दुवै सदनले उनका नीतिमाथि निगरानी बढाउन, प्रशासनका निर्णयको अनुसन्धान गर्न र नियुक्तिहरू रोक्न सक्नेछन् ।

रिपब्लिकन पार्टीभित्रै पनि नेतृत्व र नीतिगत दिशाबारे बहस चर्किन सक्छ । चुनावी हारपछि पार्टीका केही नेताले ट्रम्पको कार्यशैली परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।

रोयटर्सले नोभेम्बर ४ मा प्रकाशित गरेको समाचारमा रिपब्लिकन नेताहरूले ह्वाइट हाउसको नेतृत्वमा परिवर्तन, प्रशासनिक अनुशासन र इरान युद्ध तथा ट्यारिफ नीतिको पुनरावलोकन गर्नुपर्ने बताएका थिए । तर, ट्रम्पले तत्काल आफ्नो नीतिगत दिशा बदल्ने संकेत दिएका छैनन् ।

६० मिनेटको अन्तर्वार्तामा उनले प्रशासनका केही अधिकारी परिवर्तन गर्न सकिने संकेत गरे । त्यसको केही समयपछि ह्वाइट हाउसकी चिफ अफ स्टाफ सुसी वाइल्सको स्थानमा आप्रवासन नीतिका कठोर योजनाकार स्टेफन मिलरलाई ल्याउने घोषणा गरे ।

यो निर्णयलाई पनि ट्रम्पले पराजयपछि आफ्नो राजनीतिक आधार जोगाउन खोजेको कदमका रूपमा व्याख्या गरिएको छ । 

ट्रम्पले चुनावी हारको कारण इरान युद्ध, महँगी, उम्मेदवारको कमजोरी र आफू मतपत्रमा नरहेको अवस्थालाई औँल्याएका छन् । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विश्लेषणले यसको जरो अझ गहिरो देखाएका छन् । महँगिएको जीवन, युद्धमा संलग्नता, कठोर आप्रवासन नीति, भ्रष्टाचारको आरोप, अधुरा प्रतिबद्धता र म्यागा आन्दोलनभित्रको घट्दो उत्साहले उनको राजनीतिक आधार कमजोर बनाएको छ ।

ट्रम्पको सबैभन्दा ठूलो समस्या चुनाव हार्नु मात्रै होइन, आफूलाई जिताउने मतदाताको अपेक्षा पूरा गर्न नसक्नु हो । आर्थिक समृद्धि, युद्धबाट मुक्ति र सरकारी भ्रष्टाचार अन्त्य गर्ने वाचासहित सत्तामा पुगेका ट्रम्पलाई मतदाताले यसपटक आफ्नै कामको हिसाब मागेका छन् । त्यसैले यो परिणामलाई रिपब्लिकन पार्टीको पराजयभन्दा पनि ट्रम्पको राजनीतिक शैली र शासनको जनमत परीक्षणका रूपमा हेर्न सकिन्छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर