
काठमाडौं : सरकारले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनाका घाइतेको उपचार खर्च तथा मृतकका परिवारलाई क्षतिपूर्ति र बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कानुनबमोजिम पाउनुपर्ने रकम छिटो उपलब्ध गराउन सवारी धनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय भइरहेको छ ।
दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि घर फर्किएका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचारमा कमी हुन नदिन अस्पताललाई निर्देशन दिइएको सरकारले जनाएको छ ।
बिहीबार बिहान काठमाडौँबाट सर्लाही जाँदै गरेको यात्रुवाहक सवारी भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो । मृतकमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का रहेका थिए ।
दुर्घटनाको कारण पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई दुर्घटना दोहोरिन नदिने उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउन जिम्मेवारी दिइएको छ ।
