२०८३ मंसिर ८ गते मङ्गलवार / Nov 24 , 2026 , Tuesday
२०८३ मंसिर ८ गते मङ्गलवार

कतारमा चालक र पैदल यात्री दुवैलाई कडाइ : मोबाइल चलाए गाडी ९० दिन जफत, संकेत मिचे १० हजार रियाल जरिवाना

Nada
तिलु शर्मा पौडेल
२०८३ मंसिर ८ गते १३:३६
Shares
कतारमा चालक र पैदल यात्री दुवैलाई कडाइ : मोबाइल चलाए गाडी ९० दिन जफत, संकेत मिचे १० हजार रियाल जरिवाना

दोहा, कतार : कतारले सडक सुरक्षा तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि नयाँ ट्राफिक कानुन ल्याएको छ । नयाँ कानुनअनुसार सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्ने चालकको गाडी ९० दिनसम्म जफत हुन सक्नेछ भने पैदल यात्रीले ट्राफिक संकेत उल्लंघन गरे १० हजार कतारी रियालसम्म जरिवाना तथा एक वर्षसम्म कैद सजाय भोग्नुपर्ने हुन सक्नेछ ।

कतारको कानुन नम्बर १९, २०२६ अन्तर्गत जारी नयाँ व्यवस्थाले चालक र पैदल यात्री दुवैलाई ट्राफिक नियम पालना गर्न थप जिम्मेवार बनाएको छ । नयाँ कानुन आगामी डिसेम्बर १९ देखि लागू हुने जनाइएको छ । सवारी चलाउने क्रममा मोबाइल फोन वा अन्य विद्युतीय उपकरण हातमा लिएर प्रयोग गर्ने चालकलाई ५०० कतारी रियाल जरिवाना हुने व्यवस्था गरिएको छ । यस्तो कसुरमा सम्बन्धित अधिकारीले प्रशासनिक निर्णयमार्फत सवारीसाधन ९० दिनसम्म जफत गर्न सक्नेछन् । त्यसै गरी, पैदल यात्रीका लागि पनि नयाँ कानुनले कडा व्यवस्था गरेको छ । 

सडक पार गर्दा पैदल यात्रीका लागि राखिएको ट्राफिक बत्तीको संकेत पालना गर्नुपर्नेछ । ट्राफिक प्रहरीको संकेतले सवारी साधनलाई अगाडि बढ्न अनुमति दिएको अवस्थामा सडक पार गर्न पाइने छैन । पैदल यात्रीले जेब्रा क्रसिङ प्रयोग गरे पनि त्यहाँ राखिएका संकेतको पालना गर्नुपर्ने कानुनमा उल्लेख छ । नयाँ कानुनको धारा ६९ ले सैनिक टोली, जिम्मेवार व्यक्तिको निगरानीमा अघि बढिरहेका संगठित समूह तथा अनुमति प्राप्त जुलुसलाई बिचबाट काटेर जानसमेत निषेध गरेको छ ।

धारा १११ अनुसार पैदल यात्रीसम्बन्धी यी नियम उल्लंघन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार कतारी रियालसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था छ । कतारमा ठुलो सङ्ख्यामा नेपाली श्रमिक तथा अन्य विदेशी नागरिक सवारी चालक र पैदल यात्रीका रूपमा रहेका छन् । नयाँ कानुनले दुवै पक्षलाई ट्राफिक नियमप्रति थप सचेत र जिम्मेवार बन्नुपर्ने सन्देश दिएको छ । त्यसैले सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, पैदल यात्रीले निर्धारित स्थानबाट मात्र सडक पार गर्न तथा ट्राफिक बत्ती र प्रहरीको संकेत अनिवार्य पालना गर्न आवश्यक देखिएको छ ।

त्यस्तै नयाँ ट्राफिक कानुनअनुसार निषेधित स्थानमा सवारीसाधन पार्किङ गरे एक वर्षसम्म कैद वा १० हजार कतारी रियालसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने भएको छ । कतारको आन्तरिक मन्त्रालयले नयाँ ट्राफिक कानुन नम्बर १९, २०२६ को धारा ८५ र १११ स्मरण गराउँदै यस्तो चेतावनी दिएको हो ।

मन्त्रालयका अनुसार पैदलयात्री क्रसिङ, फुटपाथ, सडकको चोक तथा जङ्क्सनबाट १५ मिटरभित्र, अरूको घर तथा सम्पत्तिको प्रवेशद्वारअगाडि, अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको पार्किङस्थल तथा अग्नि नियन्त्रण प्रणाली र विद्युत् सबस्टेसन नजिक सवारीसाधन पार्किङ गर्न पाइने छैन । मन्त्रालयले चालकहरूलाई निषेधित स्थानमा पार्किङ नगर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर