
काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक विवादमा कांग्रेस संलग्न नहुने बताएका छन् ।
मंगलबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अन्य दलका आन्तरिक विवादमा हस्तक्षेप नगर्ने पार्टीको धारणा महाधिवेशनसम्बन्धी दस्ताबेजमै स्पष्ट गरिएको बताए ।
‘हामी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रका कुनैपनि खालका समस्याभित्र पस्दा पनि पस्दैनौँ, हामीलाई रुचि पनि छैन, हामी कुनै कचकच पनि गर्दैनौँ, हामी कुनै उपद्रोमा सहभागी पनि हुँदैनौं,’ सभापति थापाले भने ।
राजनीतिक व्यवस्थाको सञ्चालनमा सरकारसँगै प्रतिपक्षी दलको पनि जिम्मेवारी रहने उल्लेख गर्दै उनले कांग्रेस त्यहीअनुसार अघि बढ्ने बताए । अहिले प्रतिपक्षमा रहेका दलहरूबीच गठबन्धन बनाउनुपर्ने पक्षमा कांग्रेस नरहेको उनको भनाइ छ ।
‘जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ त्यहाँ हातेमालो गर्छौँ, जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो त्यहाँ खबरदारी गर्छौँ, जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो त्यहाँ प्रश्न सोध्छौँ ।’
सभापति थापाले प्रमुख प्रतिपक्षका रूपमा आवश्यक पर्दा सरकारको प्रतिरोधसमेत गर्ने बताए । प्रतिपक्षमा रहेका अन्य दलसँग भने विषयगत आवश्यकताका आधारमा संवाद र सहकार्य गरिने उनले स्पष्ट पारे ।