केही वर्षअघिसम्म आम नागरिकले चासो नै नलिने विषयमा आजभोलि खुब चर्चा हुने गरेको छ । नेपालमा नेताहरुको जीवनशैली र तडकभडक अहिले जन चासोको विषय बन्न थालेको छ । त्यसैले नागरिकले उनीहरुको दैनिकी पनि निगरानीमा राख्न थालेका छन् । नेताहरुको दैनिकी र उनीहरुले बिताइरहेको भड्किलो जीवनशैलीका लागि खर्च हुने रकमको स्रोतबारे आम सर्वसाधारणको चासो बढ्दै गएको छ । नेताहरुको पारिवारीक पृष्ठभूमि र बेला बेलामा उनीहरुले सार्वजनिक गरेका सम्पत्ति विवारण हेर्ने हो भने यत्ति धेरै खर्च गर्ने आम्दानीको स्रोत कहाँबाट आयो भन्ने प्रश्न उठ्नु स्वभाविक हो ।
केही दिन अघि मात्र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल सपरिवार दुवई गएर एक साता लामो बिदा मनाएर फर्किए । नेकपाकै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि स्वास्थ्य परीक्षणका लागि भन्दै एक साता भन्दा बढी समय सिंगापुरमा बिताएर फर्किएका छन् । सरकारी खर्चमा विदेश सयर गर्न पाउने भएपछि प्रधानमन्त्री ओली दलबलसहित जानु स्वभाविक नै हो ।
सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आउने जान हवाइ भाडा बाहेक उपचार खर्च प्रधानमन्त्री आफैंले व्यहोर्ने बताइसकेका छन् । प्रधानमन्त्रीसहित अन्य सदस्यहरुको बाँकी खर्चको स्रोत के हो भन्ने खुलाइएको छैन । प्रधानमन्त्रीको उपचारका लागि कति खर्च लाग्यो भन्ने पनि आम चासो विषय बनेको छ । उनले स्वदेश फर्कंदा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि केही पनि जानकारी गराएनन् । अर्का अध्यक्ष दाहालको भ्रमण खर्च पनि कुन स्रोतबाट जुटाइएको भन्ने कुनै जानकारी नै छैन ।
संसदमा प्रमुख प्रतिपक्षीको हैसियतमा रहेको नेपाली काँग्रेसले यतिबेला यि दुई भ्रमणको खर्चको बारेमा प्रश्न गर्नुपर्ने हो । तर, काँग्रेसकै नेताहरु पनि यस्तो बिलासी जीवन बिताउनमा अग्र स्थानमै रहेकाले यसबारे चुँइक्क बोल्ने हिम्मत गरेका छैनन् । त्यसैले काँग्रेस प्रतिपक्षीको हैसियतमै नरहेकाले सर्वसाधारणले सामाजिक सञ्जालमा नेताहरुको खर्चको स्रोत खाजिरहेका छन् ।
केही दिनअघि मात्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वर्गिय पिताको स्मरणमा आफ्नै निवास बुढानिलकण्ठमा सप्ताह पूराण लगाएका छन् । उनको पूराणमा देशभरबाटै नेता कार्यकर्ता पुगेका थिए । यत्तिका नेता कार्यकर्तालाई गरिएको खर्चको स्रोत पनि अदृष्य नै छ । यसअघि तत्काली नेकपा माओवादीका सबैजसो नेताले आफ्नो पुख्र्यौली सम्पति पार्टीलाई बुुझाएर सशस्त्र युद्धमा लागेको बताएका थिए । तर, संसदीय राजनीतिमा आएको केही समयपछि पटक पटक मन्त्री हुँदा सार्वजनिक गरीएको सम्पति विवरण हेर्ने हो भने अस्वभाविक रुपमा उनीहरुले सम्पति आर्जन गरेको देखिन्छ ।
अस्वभाविक जीवनशैली नेपालको प्रचलित कानूनमा भ्रष्टाचारको एउटा प्रमाणका रुपमा परिभाषित गरीएको छ । कानूनलाई नै आधार मान्ने हो भने नेपालका अधिकांश राजनीतिक नेताहरुको जीवनशैली भ्रष्टाचारयुक्त रहेको पुष्टि हुन्छ । नेताहरुले आफ्नो आर्थिक हैसियतले नधान्ने जीवनशैली अपनाउनका लागि व्यवसायीहरुसँग सहयोग लिन्छन् । नेताहरुलाई गरेको सहयोगको व्यापारीले राज्यका ढुकुटीबाट सावाँ मात्र नभइ ब्याजमेत असुल्ने गर्छन् । नेताहरुको विदेश भ्रमण मात्र नभइ देशभित्रैकै दैनिक खर्च व्यहोर्न ठुलै धनराशी खर्चनु पर्छ । राज्यले विभिन्न हैसियतमा दिने सुविधाले त नेताहरुको दैनिकी चल्दैन । त्यसैले अन्यत्रबाट हुने आम्दानीको स्रोत चाँही खुलाउनु पर्दैन ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies